काठमाडौं । ओखलढुंगामा बोलेरो जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।
प्रहरीका अनुसार सोमबार (मंसिर ७) बिहान करिब ७ः१५ बजे सिद्धिचरण नगरपालिका–२, खनेखर्कस्थित निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना भएको हो ।
निशंखेबाट सिद्धिचरण नगरपालिका–८, लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेका दर्शनार्थी सवार प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जीप सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सबै सिद्धिचरण नगरपालिका–२ का स्थानीय हुन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया