काठमाडौं । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएलगत्तै दुई देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
सम्झौतामा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई भ्रमणका उपलब्धिबारे जानकारी गराउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा अहिले नेपाल–भारत द्विपक्षीय वार्ता भइरहेको छ । वार्तामा प्रधानमन्त्री शाह र मोदीसहित दुवै देशका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी छन् ।
नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी छन् ।
भारतीय पक्षबाट विदेशमन्त्री डा. एस जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्च सरकारी अधिकारीहरू वार्तामा सहभागी छन् ।
प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु हुनुअघि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।




प्रतिक्रिया