काठमाडौँ । नेपाली कांग्रेसका नेता डीबी सुनारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि सरकारको पूर्वतयारी कमजोर देखिएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सुनारले भ्रमणको तयारीलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरू आइरहेको उल्लेख गरेका हुन् ।
प्रम बालेनको भारत भ्रमणमा रेल, कनेक्टिभिटी र तल्लो अरुणजस्ता ठूला परियोजनामा सम्झौता भए पनि दुई तिहाइ नजिकको सरकारले भारतसँग अझ महत्वपूर्ण सम्झौताहरू गर्न सक्नुपर्नेमा त्यसो हुन नसकेको धारणा नेता सुनारले राखे ।
कार्यक्रममा नेता सुनारले वर्तमान सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे । बालेन सरकारले राज्यको चौथो अङ्ग मानिने सञ्चार क्षेत्रमाथि धरपकड गरेको र शक्ति पृथकीकरणको सिद्धान्तमा समेत धक्का पुर्याएको टिप्पणी गरे ।
पार्टीको विवादका विषयमा बोल्दै सुनारले नेपाली कांग्रेसको आधिकारिकता अदालतबाटै निरुपण भइसकेको दाबी गरे । उनले गगन थापा सभापति रहेको नेपाली कांग्रेस नै आधिकारिक भएको बताएका छन् ।




प्रतिक्रिया