काठमाडौँ । ‘हुंकार मधेश’का केन्द्रीय प्रवक्ता केशवकुमार झाले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकारका कामकारबाहीबाट मधेशका जनता आक्रान्त बनेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता झाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कामको गति सन्तोषप्रद नरहेको टिप्पणी गरे । पूर्ववर्ती सरकारहरू ६–७ महिनामै ढलेको इतिहास स्मरण गराउँदै उनले संविधान संशोधन गर्नै नपर्ने र संघीयतालाई बलियो बनाउने विषयमा बालेन सरकारले अहिलेसम्म ठोस काम गर्न नसकेको आरोप लगाए ।
बजारमा महँगी अनियन्त्रित रूपमा बढेको, खाना पकाउने ग्यास सहज रूपमा नपाइएको तथा बजेटपछि विद्युत् र विभिन्न शीर्षकमा कर बढाइएको भन्दै उनले आम नागरिक मारमा परेको बताए । उनले मधेश प्रदेशको स्वास्थ्य अवस्थासमेत दयनीय रहेको उल्लेख गर्दै सरकारले जनताका आधारभूत आवश्यकतामा ध्यान नदिएको गुनासो गरे ।
प्रेस स्वतन्त्रताको सवालमा सरकार अनुदार देखिएको आरोप लगाउँदै झाले सञ्चारगृहको कार्यालयबाटै आतंकवादी शैलीमा पत्रकार गिरफ्तार गरिनु निन्दनीय रहेको बताए । “पत्रकारलाई कार्यालयबाटै आतंकवादी शैलीमा पक्राउ गरियो, जुन बिल्कुलै ठीक गरिएन,” उनले भने, “झन् सरकारले आफूहरूलाई यसबारे थाहै छैन भनेर गैरजिम्मेवार जवाफ दियो ।”
प्रधानमन्त्री शाहको भारत भ्रमणका सन्दर्भमा बोल्दै प्रवक्ता झाले नेपाल र भारतबीच सांस्कृतिक, सामाजिक, आर्थिक तथा खुला सीमाका कारण बहुआयामिक र सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै उनले राजनीतिक तहमा कहिलेकाहीँ तनावपूर्ण देखिए पनि जनस्तरमा प्रगाढ सम्बन्ध रहेको बताए ।
नेपाल–भारत सम्बन्ध वर्षको ३६५ दिन नै रहने भएकाले प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणका बेला मात्रै सबै विषय टुंगिनुपर्छ भन्ने मानसिकता राख्न नहुने उनको धारणा थियो । द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालले भारतीय आर्थिक लगानी भित्र्याउने विषयलाई नै मुख्य प्राथमिकतामा राख्नुपर्नेमा झाले सुझाव दिए ।




प्रतिक्रिया