काठमाडौं । लिबिया र बाल्टिक सागरमा रुसी पानीजहाजमाथि भएका ड्रोन आक्रमणको लागि युक्रेनले ‘पीडादायी परिणाम’ भोग्नुपर्ने रुसले चेतावनी दिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले लिबियाको बेन्गाजी बन्दरगाहमा दुई रुसी जहाजमाथि आक्रमण गरेको बताएपछि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार यस्तो प्रतिक्रिया दिएका हुन् ।
जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले आइतबार बेन्गाजीस्थित नौसैनिक अखडामा रुसी कोर्भेट जहाज ‘मर्करी’ डुबाउनुका साथै हतियार ओसार्न प्रयोग हुने अर्को मालवाहक जहाजमा आक्रमण गरेको थियो ।
पेस्कोभले रुसी रक्षा मन्त्रालयले घटनाबारे अध्ययन गरिरहेको बताउँदै युक्रेनका सैन्य पूर्वाधारमाथि रुसी आक्रमण जारी रहने जनाए । बाल्टिक सागरको घटनाले क्षेत्रीय तनाव बढाएको उल्लेख गर्दै उनले बाल्टिक राष्ट्रहरूलाई युक्रेनमाथि दबाब दिन आग्रहसमेत गरे ।
यसैबीच, पूर्वी लिबियाली प्रशासनले आक्रमणलाई आफ्नो सार्वभौमसत्ताको उल्लंघन भन्दै संयुक्त राष्ट्रसंघमा उजुरी दिएको छ । उसले पश्चिमी लिबियामा युक्रेनी सैनिकको कथित उपस्थितिबारे अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ ।
यसअघि शनिबार बाल्टिक सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा कालिनिनग्रादतर्फ गइरहेको रुसी जहाज ‘स्पार्टा–२’ माथि ड्रोन आक्रमण हुँदा आगलागी भएको थियो । फिनल्यान्डको सेनाले उक्त आक्रमण युक्रेनले गरेको हुन सक्ने जनाएको छ । पेस्कोभले यसलाई ‘अत्यन्त खतरनाक प्रवृत्ति’ भन्दै आलोचना गरेका छन् । अलजजिरा




प्रतिक्रिया