नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की दिदी सुजाता शाहले नेपाल र भारतबीच पुस्तौँदेखि कायम रहेको ‘रोटी–बेटी’ को सम्बन्धले दुई देशबीचको आपसी आत्मीयता र सांस्कृतिक निकटतालाई थप मजबुत बनाउने बताएकी छन्।
प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण सम्पन्न भएको सन्दर्भमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतको कर्नाटकमा विवाह गरेकी सुजाताले नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक वा कूटनीतिक तहमा मात्र सीमित नरहेको बताइन्। उनका अनुसार दुवै देशबीच कला, संस्कृति, परम्परा र मानवीय भावनाको गहिरो सम्बन्ध छ, जसलाई भौगोलिक सीमाले अलग गर्न सक्दैन।
जीवनप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै उनले मानिसले एकअर्काको अस्तित्व र खुसीको सम्मान गर्नुपर्ने धारणा राखिन्।
उनले भनिन्, ‘मेरो विचारमा अहिले हरेक मानिसमा बाँच्ने परिभाषा यही हुनुपर्छ, बाँचौँ र बाँच्न दिऔँ, खुसी रहौँ र खुसियाली फैलाऔँ । आफ्नो वरपर शान्तिपूर्ण वातावरण बनाइराख्नु नै हाम्रो सबैभन्दा ठूलो धर्म हो।’
नेपाल र भारतबीचको ऐतिहासिक वैवाहिक सम्बन्धको प्रसङ्ग उठाउँदै सुजाताले त्रेतायुगमा नेपालकी सीता र भारतका रामबीच भएको विवाहलाई दुई देशबीचको सांस्कृतिक सम्बन्धको उदाहरणका रूपमा प्रस्तुत गरिन्।
उनले विगतदेखि नै एक देशका नागरिकले अर्को देशमा विवाह गर्ने परम्परा रहँदै आएको उल्लेख गर्दै यसलाई अस्वाभाविक रूपमा लिन नहुने बताइन्। विवाहलाई ठूलो मुद्दा बनाउनुभन्दा यस्ता सम्बन्धले दुई देशका नागरिकबीचको निकटता र सद्भाव बढाउने उनको भनाइ छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सुरु गरिएको रेल सेवाको पनि उनले प्रशंसा गरिन्। रेलमार्गको सुरुवातलाई नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप जोड्ने सकारात्मक पहलका रूपमा व्याख्या गर्दै यसले दुवै देशबीचको आत्मीयताको प्रतीकात्मक सन्देश दिएको बताइन्।




प्रतिक्रिया