नेपाल–युरोप आर्थिक सहकार्य विस्तारमा उद्योगमन्त्री साहको जोड, युरोपेली राजदूतसँग छलफल


काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपक कुमार साह र नेपालका लागि युरोपेली राजदूतबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ताका क्रममा नेपाल र युरोपबीचको द्विपक्षीय व्यापारिक सम्बन्ध विस्तार, नेपाली उत्पादनको निर्यात प्रवर्द्धन तथा युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच बढाउने विषयमा विस्तृत छलफल भएको छ।

विशेषगरी नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, निर्यातका नयाँ सम्भावनाहरूको पहिचान, वैदेशिक लगानी आकर्षण तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो।

मन्त्री साहले नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नेपाली वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न तथा युरोपेली बजारमा पहुँच विस्तार गर्नुपर्ने विषयमा जोड दिए ।

नेपालको उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने, व्यापारिक अवसर विस्तार गर्ने र वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्यसहित युरोपसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भेटवार्ता केन्द्रित रहेको थियो।