नेपालीले आगामी एक महिनाभित्र भारतमा क्यूआरबाटै भुक्तानी गर्न पाउने


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणपछि नेपाली नागरिकले भारतमा पनि मोबाइलबाट क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न पाउने भएका छन्। नेपाल र भारतका भुक्तानी सेवा प्रदायकबीच आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने लक्ष्यसहित सहमति जुटेको हो।

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपालको फोनपेका प्रतिनिधिबीच सोमबार र मंगलबार यस विषयमा छलफल भएको थियो। छलफल सकारात्मक बनेपछि आवश्यक प्रक्रिया पूरा गरेर सेवा सञ्चालन गर्न दुवै पक्ष सहमत भएका छन्।

दुवै देशले क्यूआरमार्फत भुक्तानीका लागि आवश्यक प्राविधिक पूर्वाधार तयार गरिसकेका छन्। भारतीय पक्षसमेत सेवा सञ्चालनका लागि सकारात्मक देखिएकाले एक महिनाभित्रै सेवा सुरु गर्ने लक्ष्य राखिएको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिएका छन्।

यसअघि २०८० जेठमा भारत भ्रमणका क्रममा व्यक्ति–व्यक्ति तथा व्यक्ति–व्यापारीबीच डिजिटल भुक्तानी सेवा विस्तार गर्ने विषयमा एनपीसीआईसँग सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मार्फत व्यक्ति–व्यक्तिबीच रकम पठाउने सेवा गत जेठदेखि सञ्चालनमा आइसकेको छ। तर फोनपेमार्फत हुने क्यूआर भुक्तानी सेवा भने कार्यान्वयनमा आउन सकेको थिएन।

यस्तै, गत जेठमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल रेमिट्यान्स सेवा सुरु गरिएको थियो। त्यसबेला व्यापारीलाई क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था अर्को चरणमा लागू गर्ने बताइएको थियो।

भारतमा नेपालीलाई मोबाइलबाटै भुक्तानी गर्न सहज हुने

हाल नेपाली नागरिकले भारतमा बैंक खाता, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस तथा नेपाली बैंकले जारी गरेका कार्डमार्फत निश्चित सीमा र सर्तभित्र रहेर कारोबार गर्दै आएका छन्।

क्यूआर भुक्तानी सेवा सुरु भएपछि भने भारतका पसल, होटल तथा अन्य व्यावसायिक प्रतिष्ठानमा नेपाली नागरिकले मोबाइलबाटै क्यूआर स्क्यान गरी सहज रूपमा रकम तिर्न सक्नेछन्। यसले भारत भ्रमणमा जाने नेपाली पर्यटक, व्यवसायी तथा अन्य यात्रुलाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

अहिले नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच रकम पठाउने सुविधा पनि सञ्चालनमा छ। यस व्यवस्थाअन्तर्गत नेपालमा रहेका भारतीय नागरिकले प्रतिकारोबार १५ हजार र मासिक एक लाख भारतीय रुपैयाँसम्म पठाउन सक्छन्।

त्यस्तै, भारतमा रहेका नेपाली तथा भारतीय नागरिकले नेपाली बैंक खातामा प्रतिकारोबार दुई लाख भारतीय रुपैयाँसम्म रकम पठाउन पाउने व्यवस्था छ।

नेपाली बैंकका कार्ड प्रयोग गरी भारतमा एटीएमबाट दैनिक १५ हजार र मासिक एक लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था छ। अस्पताल, औषधि पसल तथा होटलको बिल कार्डमार्फत भुक्तानी गर्दा १० लाख रुपैयाँसम्म पूर्वअनुमति लिनु पर्दैन। सोभन्दा बढी रकम भुक्तानी गर्नुपरेमा भने सम्बन्धित बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

नयाँ क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएपछि नेपाल–भारतबीचको डिजिटल कारोबार थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।