धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।
मङ्गलबार कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित ‘छैटौँ कञ्चनपुर’ सम्मेलनलाई सम्बोधन गर्दै उनले नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार सधैँ साथमा रहने बताएका हुन् ।
‘विकास निर्माणका कार्यहरूलाई वातावरणमैत्री र विपद्–प्रतिरोधी बनाउन तीनै तहका सरकार, विकास साझेदार संस्था र नागरिक समाजबीचको त्रिकोणात्मक सहकार्यआवश्यक छ ।’
मुख्यमन्त्री भट्टले भने, ‘विपद् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित हुनुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र समुदायलाई सक्षम बनाउने कार्य आजको प्रमुख आवश्यकता हो ।’
जोखिम न्यूनीकरण र दिगो विकासका लागि वास्तविक पूर्वतयारी प्रत्येक व्यक्तिको घर, परिवार र समुदायबाटै सुरु हुनुपर्नेमा उनको जोड छ ।
‘ठूला पूर्वाधार र नीतिगत योजनाको चर्चासँगै समुदायस्तरको सचेतना र पूर्वतयारी अपरिहार्य रहेको छ’, उनले भने, ‘विशेषगरी कञ्चनपुर जिल्ला बाढी, डुबान, कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको छ ।’
उनले प्रत्येक वर्ष वर्षायाममा महाकाली, दोदा, बनरा, जोगबुढा लगायतका स्थानीय नदीनालाहरूले पुर्याउने क्षतिले जनजीवन, कृषि र पूर्वाधारलाई प्रभावित पार्दै आएको बताए ।




प्रतिक्रिया