जनकपुरधाममा रेलको रौनक : स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा, व्यवस्थापनमा हेक्का


काठमाडौँ । माता जानकी जन्मस्थल जनकपुरधाम र भगवान् श्रीराम जन्मस्थल अयोध्यालाई सीधा रेल सञ्जालमार्फत जोड्ने साप्ताहिक सेवाको सुरुवातसँगै नेपाल–भारत सीमापार कनेक्टिभिटी र धार्मिक पर्यटनमा नयाँ अध्याय थपिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भर्चुअल माध्यमबाट संयुक्त रूपमा उद्घाटन गरेपछि मंगलबार एउटा रेल जनकपुर आइपुगेको छ। लामो समयदेखि चर्चामा रहेको रामायण सर्किटलाई भौतिक र व्यावहारिक रूप दिने दिशामा यो कदमलाई अर्थपूर्ण सुरुवातका रूपमा हेरिएको छ।

यो रेल सेवाको सबैभन्दा बलियो पक्ष नै रामायणसँग जोडिएका दुई ऐतिहासिक र धार्मिक केन्द्रबीचको सीधा सम्पर्क हो। यसले धार्मिक पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष टेवा पुग्ने विश्वास गरिएको छ। तीर्थयात्री र पर्यटक मात्र होइन, सीमापारि अध्ययन गर्ने विद्यार्थी, साना–ठूला व्यवसायी तथा आफन्त भेटघाटका लागि आवतजावत गर्ने सर्वसाधारणलाई समेत यसले सहज र भरपर्दो विकल्प दिनेछ।

विशेषगरी जनकपुरधाम र आसपासका क्षेत्रको स्थानीय अर्थतन्त्रमा यसले बहुआयामिक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सीधा रेलमार्फत भारतीय तीर्थयात्री तथा पर्यटकको आगमन बढेसँगै मिथिलाका होटल, आतिथ्य सत्कार, यातायात, खानपान तथा स्थानीय व्यापार–व्यवसाय चलायमान हुने आधार बनेको छ। यसअघि भारतबाट रेलमार्फत जनकपुरधाम आउन चाहने यात्रुले जयनगरमा रेल परिवर्तन गर्नुपर्ने बाध्यता थियो। नयाँ सेवाले सीमा जाँचसम्बन्धी प्रक्रिया पूरा गरेपछि एउटै रेलमार्फत गन्तव्यसम्म पुग्न सकिने सुविधा दिएकाले पर्यटकको बसाइ र यात्रा अनुभव दुवैमा सुधार आउने देखिन्छ।

जनकपुरधाम–अयोध्या क्यान्ट साप्ताहिक एक्सप्रेसले नोभेम्बर २८ देखि सातामा एक दिन दुवै दिशामा नियमित सेवा सुरु गर्नेछ। करिब ६०४ किलोमिटर लामो यो दूरी रेलले बिहार र उत्तर प्रदेशका विभिन्न शहर हुँदै करिब १९ घण्टामा पार गर्ने तालिका छ।

उत्साहजनक सम्भावनाका बीच यो रेल सेवाको दीर्घकालीन सफलता र प्रभावकारिता केही व्यावहारिक पक्षहरूको व्यवस्थापनमा निर्भर रहनेछ। नेपाल र भारतबीच भिसा आवश्यक नपर्ने विद्यमान व्यवस्था रहेकाले कागजी प्रक्रिया तुलनात्मक रूपमा सहज छ। यद्यपि यात्राका क्रममा वैध परिचयपत्र तथा आवश्यक यात्रा कागजात साथमा राखी सीमा जाँच प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थालाई कति छरितो र यात्रुमैत्री बनाइन्छ भन्ने कुराले यात्राको सहजता तय गर्नेछ।

अर्कोतर्फ, सेवा सुरु हुने मिति र तालिका सार्वजनिक भए पनि टिकट मूल्य अझै स्पष्ट भइसकेको छैन। भारतीय रेलको टिकट बुकिङ प्रणाली आईआरसीटीसीमार्फत भाडादर र बुकिङ प्रक्रिया कहिले र कसरी खुल्छ भन्ने विषय यात्रुहरूका लागि चासोको केन्द्रमा छ। साथै, सातामा एक दिन मात्र सञ्चालन हुने सेवाले धार्मिक पर्व र विशेष अवसरमा बढ्ने यात्रुको चापलाई कतिसम्म धान्न सक्छ र जनकपुरधामका स्थानीय पूर्वाधार तथा होटल व्यवसायले आगन्तुकलाई कस्तो आतिथ्य प्रदान गर्छन् भन्ने कुराले नै यो रेल सेवाले ल्याउने आर्थिक लाभको वास्तविक मापन गर्नेछ।