कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने


ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बुधबार बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

सभापति गगनकुमार थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए। उक्त कार्यसूचीमा पार्टीको आगामी सांगठनिक कार्यदिशादेखि समसामयिक राजनीतिक तथा नागरिक सरोकारका विषय समेटिएका छन्।

कार्यवाहक मुख्यसचिव दुलालका अनुसार बैठकमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र आगामी स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुनेछ।

महामन्त्री पौडेलले प्रस्तुत गरेको कार्यसूचीमा संगठन सुदृढीकरणका लागि सञ्चालन गरिने ‘हामी तयार छौँ’ अभियानलाई पनि प्राथमिकतामा राखिएको छ।

त्यसैगरी, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछि प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माण र विस्थापित सुकुमवासीको व्यवस्थापनका विषयमा समेत छलफल गर्ने तयारी छ।

बैठकमा सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय तहको निर्वाचनबारे प्रारम्भिक समीक्षा तथा छलफल हुने कार्यसूची रहेको छ। यसका अतिरिक्त विविध समसामयिक विषयमा पनि नेताहरूले आफ्नो धारणा राख्नेछन्।

मंगलबार दिउँसो सुरु भएको बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक परिस्थितिका विषयमा विशेष सम्बोधन गरेका थिए।

प्रस्तावित कार्यसूचीका विषयमा थप छलफल गर्न बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने तय भएको हो।