पोर्चुगलको पासपोर्ट र रेसिडेन्ट कार्ड सामाजिक सञ्जालमा नदेखाउन नेपाली दूतावासको आग्रह


काठमाडौं । पोर्चुगलमा रहेका नेपाली नागरिकले राहदानी (पासपोर्ट) तथा आवासीय अनुमति पत्र (टेम्पोररी रेसिडेन्ट परमिट) सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम बढेको भन्दै नेपाली राजदूतावास लिस्बनले त्यसो नगर्न आग्रह गरेको छ।

केही नेपालीले पोर्चुगलको राहदानी तथा आवासीय अनुमति पत्र प्राप्त गरेपछि टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा ती कागजात प्रदर्शन गर्ने गरेको पाइएको भन्दै दूतावासले यसप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।

दूतावासले मंगलबार सार्वजनिक गरेको सूचनामा राहदानी र आवासीय अनुमति पत्र राज्यबाट जारी गरिने अत्यन्त संवेदनशील तथा महत्वपूर्ण आधिकारिक दस्तावेज भएको उल्लेख गरेको छ।

यस्ता कागजात सामाजिक सञ्जालमा सार्वजनिक रूपमा प्रदर्शन गर्नु अशोभनीय हुनुका साथै कुनै पनि दृष्टिकोणबाट उचित नहुने दूतावासको भनाइ छ।

दूतावासले पोर्चुगलमा बसोबास गर्ने नेपाली नागरिकलगायत सबैलाई यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ।

साथै राहदानी तथा आवासीय अनुमति पत्रको संवेदनशीलतालाई ख्याल गर्दै तिनको मर्यादा, सुरक्षा र गोपनीयता कायम राख्न पनि दूतावासले सचेत गराएको छ।

आधिकारिक परिचय तथा आवासीय हैसियत प्रमाणित गर्ने महत्वपूर्ण कागजात भएकाले तिनलाई सार्वजनिक रूपमा प्रदर्शन नगरी सुरक्षित राख्न दूतावासले आग्रह गरेको हो।