काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल र भारतबीच भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने विषयमा भएको सहमतिको स्वागत गरेका छन्।
उनले उक्त सहमतिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप कम गर्न केही हदसम्म सहयोग पुग्ने बताएका छन्।
भैरहवा र पोखरामा विमान अवतरण सहज हुने वा नहुने भन्ने विषय प्राविधिक अध्ययनपछि मात्रै टुंगो लाग्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले आफूले बुझेअनुसार भैरहवाका लागि ६ हजार ५०० फिट र पोखराका लागि १५ हजार फिट उपयुक्त हुने उल्लेख गरेका छन्। भारतीय प्राविधिक पक्षले यसलाई स्वीकार गर्छन् वा गर्दैनन् भन्ने विषय भने हेर्न बाँकी रहेको उनले बताएका छन्।
उनले दुईतर्फी हवाई रुट विस्तारका लागि महेन्द्रनगर र नेपालगन्जलाई अझै प्राथमिकतामा राख्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
भट्टराईले सन् २०१९ तिर नेपाल र भारतका सम्बन्धित अधिकारीबीच हवाई रुटका विषयमा भएको छलफल कुन निष्कर्षमा पुगेको थियो र कार्यान्वयनको चरणमा पुग्नै लाग्दा किन रोकियो भन्ने विषय भविष्यमा सार्वजनिक गर्ने बताएका छन्।




प्रतिक्रिया