हिंसामुक्त, विभेदरहित, सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि सरकार प्रतिबद्ध: मन्त्री बादी


काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्न सबै पक्ष एकजुट हुन आह्वान गरेकी छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै मन्त्री बादीले पीडितको संरक्षण, दोषीलाई कानुनी कारबाही र न्यायको सुनिश्चितता सरकारको प्राथमिकता भएको बताइन् ।

उनले हिंसामुक्त, विभेदरहित, सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म विश्वभर सञ्चालन हुने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ सञ्चालन भइरहेको छ ।

सम्बोधनका क्रममा मन्त्री बादीले संविधान, कानुन तथा विभिन्न नीतिगत व्यवस्थाका बाबजुद घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथा, छाउपडी, जातीय विभेद, मानव बेचबिखन तथा डिजिटल माध्यमबाट हुने हिंसा अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको बताइन् ।

विशेषगरी दलित महिला, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, बालिका, किशोरी तथा सीमान्तकृत समुदाय हिंसाको उच्च जोखिममा रहेको उनको भनाइ थियो ।

न्याय पहुँचवालाका लागि मात्र नभई प्रत्येक नागरिकका लागि समान रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिँदै उनले हिंसापीडितले न्याय खोज्ने क्रममा थप पीडा र असुरक्षा भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन् ।

मन्त्री बादीले सरकारले लैङ्गिक हिंसा निवारणसम्बन्धी कानुन तथा नीतिको प्रभावकारी कार्यान्वयन, पीडितको उद्धार, सुरक्षित आवास, कानुनी सहायता, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सेवाको विस्तारलाई प्राथमिकतामा राखेको जानकारी दिइन् ।

त्यस्तै, महिला सशक्तीकरण, सीप विकास, रोजगारी, उद्यमशीलता तथा आर्थिक आत्मनिर्भरतालाई लैङ्गिक हिंसा न्यूनीकरणका महत्त्वपूर्ण आधारका रूपमा अघि बढाइने उनले बताइन् ।