सरकारले जाँच नभएको मासु नखानु भन्छ, तर जाँच कहाँ लगेर गराउने? : अध्यक्ष खत्री


९ मंसिर, काठमाडौं। चौपाया खरिदबिक्री संघ तथा मासु व्यवसायसँग सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल र पूर्वाधारको व्यवस्था नै नगरी सरकारले मासु जाँचसम्बन्धी कानुन कार्यान्वयन गरेकाे भन्दै चौपाया खरिदबिक्री संघले आपत्ति जनाएको छ। सरकारले पहिले वधस्थल र वधशालाको उचित व्यवस्था गर्नुपर्ने माग गर्दै संघले व्यवसायीको हकहित र अधिकारलाई बेवास्ता गरेर नियम लागू गर्न खोज्नु अव्यावहारिक भएको जनाएको छ।

बुधबार रिपोर्टस क्लब,नेपालमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै चौपाया खरिदबिक्री संघका केन्द्रीय अध्यक्ष सन्तोषबहादुर खत्रीले राज्यले आवश्यक पूर्वाधार निर्माण नगर्ने तर व्यवसायीलाई जाँच नभएको मासु बिक्री तथा उपभोग नगर्न निर्देशन दिने सरकारी कार्यशैली असन्तुष्टि जनाएका हुन्।

अध्यक्ष खत्रीले भने, “सरकारले जाँच नभएको मासु नखानु भन्छ। तर जाँच कहाँ लगेर गराउने? कसलाई लगेर जाँच गराउने? राज्यले न एउटा वधस्थल बनाउन सकेको छ, न एउटा वधशाला बनाउन सकेको छ।”

उनका अनुसार पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र पशु वधशाला तथा मासु जाँच नियमावली, २०५७ को व्यवस्था भए पनि स्थानीय तह र वडा कार्यालयसम्म त्यसबारे पर्याप्त जानकारी तथा समन्वय देखिएको छैन।

“हामी पटक–पटक राज्यसँग ठाउँ मागिरहेका छौँ। व्यवसाय सञ्चालनका लागि आवश्यक स्थान उपलब्ध गराइदिन आग्रह गरिरहेका छौँ। तर वधस्थल र वधशालाको व्यवस्था नगरी नियम लागू गर्न खोज्नु कत्तिको व्यावहारिक हुन्छ?” खत्रीले प्रश्न गरे।

उनले स्थानीय तहलाई समेत जानकारी नदिई नियम कार्यान्वयन गर्न खोजिएको विषय संघका लागि आपत्तिजनक रहेको बताए। उनका अनुसार व्यवसायीलाई कानुनी दायरामा ल्याउनुअघि राज्यले आवश्यक संरचना निर्माण गर्नुपर्ने, पशु स्वास्थ्य परीक्षण र मासु जाँचको व्यवस्था गर्नुपर्ने तथा सम्बन्धित व्यवसायीसँग छलफल गर्नुपर्ने हुन्छ।

पूर्वाधार नबनाउने सरकार, नियमको भार व्यवसायीमाथि!

संघका अध्यक्ष खत्रीका अनुासर चौपाया खरिदबिक्री बजारको उचित व्यवस्थापनका लागि नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा आवश्यक पूर्वाधारसहित व्यवस्थित बजार निर्माण गर्नुपर्ने माग राख्दै आएको छ। व्यवस्थित बजारबाटै चौपायाको स्वास्थ्य परीक्षण गरी खरिदबिक्री गर्ने व्यवस्था भए रोग नियन्त्रण र उपभोक्ताको स्वास्थ्य सुरक्षामा समेत सहयोग पुग्ने संघको तर्क छ।

संघले काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तह तथा सम्बन्धित सरकारी निकायमा पत्राचार गर्दै वधस्थल निर्माण र बजार व्यवस्थापनका लागि पहल गरेकोसमेत जानकारी दिएकाे छ। बागमती प्रदेश सरकार, पशुसेवा विभाग, काठमाडौं महानगरपालिका, तारकेश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, सूर्यविनायक, कीर्तिपुर, गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरि, भक्तपुर, मध्यपुर थिमि, गोदावरी र ललितपुर महानगरपालिकालगायतका निकायसँग समन्वय तथा पत्राचार गरिएको संघले जनाएकाे छ।

संघले काठमाडौं जिल्लामा दुई, भक्तपुरमा एक र ललितपुर महानगरपालिका क्षेत्रमा एक गरी उपत्यकामा कम्तीमा चारवटा व्यवस्थित बजार तथा वधस्थल आवश्यक रहेको औँल्याएको छ। त्यसका लागि सम्भावित स्थान पहिचान गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग सहकार्य गर्ने तयारीसमेत गरिएको जनाएको छ।

व्यवसायीको माग : पहिले व्यवस्था, त्यसपछि कडा नियमन

संघले व्यवसायीको हकहित र अधिकार संरक्षणसँगै नेपाली उत्पादन तथा नेपाली बजारको सुनिश्चितताका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएको छ। चौपाया खरिदबिक्रीलाई व्यवस्थित, सुरक्षित र कानुनी दायराभित्र सञ्चालन गर्न संघ तयार रहे पनि त्यसका लागि राज्यले आवश्यक पूर्वाधार र व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने उसको माग छ।

अध्यक्ष खत्रीले कानुनको विरोधभन्दा पनि कानुन कार्यान्वयनका लागि आवश्यक आधार तयार नगरी व्यवसायीमाथि मात्रै जिम्मेवारी थोपर्न खोजिएकोमा आफूहरूको असन्तुष्टि रहेको संकेत गरेका छन्।

उपभोक्ताको स्वास्थ्य सुरक्षा, पशु स्वास्थ्य परीक्षण र व्यवस्थित मासु बजार निर्माण आफैँमा महत्वपूर्ण विषय हुन्। तर त्यसका लागि आवश्यक वधशाला, परीक्षण केन्द्र र व्यवस्थित बजार निर्माण नगरी व्यवसायीलाई मात्रै कारबाहीको जोखिममा पार्नु न्यायोचित नहुने संघको तर्क छ।

त्यस्तै, नेपालमा उत्पादन भएका खसीबोका तथा बाख्रा र विभिन्न मासुका स्राेतहरु सीमा नाकाबाट भारततर्फ निर्यात भइरहेकाे भन्दै सरकाकाे गम्भीर ध्यानाकर्षणसमेत जनाए । सरकारले नेपालमा उत्पादित खसीबाेका तथा बाख्राहरु भारत निर्यात हुनबाट राक्नुपर्ने उनले बताए ।

सरकारले समयमै व्यवसायीहरुकाे मागलाई सुनुवाई नगरे पसल बन्द गर्नुकाे विकल्प नरहेकाे उनकाे भनाइ छ ।

यद्यपि, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लागु गरेको आफूहरुको कुनै आपत्ति नरहेको उनले स्पष्ट पारे ।