काठमाडौँ । महिलाको सौन्दर्यलाई आत्मविश्वास, प्रतिभा, नेतृत्व र सामाजिक पहिचानसँग जोड्ने उद्देश्यसहित अघि बढिरहेको ‘मिसेस भोग नेपाल सिजन–४ : बियोन्ड द क्राउन’ मा एलिजा गौतम पुनः ब्रान्ड एड्भोकेटका रूपमा जोडिएकी छन् । हाउस अफ फेसन नेपालले आयोजना गर्दै आएको यस अभियानमा सञ्चार क्षेत्रकी नेतृत्वकर्ता तथा सामाजिक अभियन्ता गौतमको पुनः सहभागितालाई महिला सशक्तीकरणको अभियानसँग जोडेर हेरिएको छ ।
प्राइम टाइम टेलिभिजनकी निर्देशकसमेत रहेकी गौतम सञ्चार क्षेत्रसँगै सामाजिक गतिविधिमा पनि सक्रिय छिन् । उनको सहभागिताले महिलाहरूलाई आफ्नो क्षमता पहिचान गर्न, आत्मविश्वासका साथ अघि बढ्न र समाजमा छुट्टै पहिचान स्थापित गर्न प्रेरित गर्ने आयोजकको विश्वास छ ।
मिसेस भोग नेपालले विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व र क्षमतालाई उजागर गर्दै उनीहरूलाई नयाँ अवसर र सम्भावनासँग जोड्ने लक्ष्य राखेको छ । यसले महिलालाई बाहिरी सौन्दर्यमा मात्र सीमित नराखी उनीहरूको विचार, नेतृत्व क्षमता, आत्मनिर्भरता र सामाजिक योगदानलाई समेत महत्त्व दिँदै आएको छ ।
‘बियोन्ड द क्राउन’ अर्थात् मुकुटभन्दा पर भन्ने मूल नारासहित अघि बढिरहेको यस संस्करणले सौन्दर्य प्रतियोगिताको परम्परागत दायराभन्दा माथि उठेर हरेक महिलाको पहिचान, आत्मसम्मान र सम्भावनाको उत्सव मनाउन खोजेको छ । महिलाहरू एकअर्काका प्रेरणा बन्ने, आफ्ना सपना पछ्याउने र समाजमा सकारात्मक परिवर्तनको संवाहक बन्ने वातावरण निर्माण गर्नु यसको मुख्य उद्देश्य रहेको छ ।
एलिजा गौतमको पुनः सहभागितासँगै मिसेस भोग नेपाल सिजन–४ ले महिला सशक्तीकरण, आत्मविश्वास र सामाजिक प्रभावको सन्देशलाई थप व्यापक बनाउने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया