बालश्रम न्यूनीकरण गर्न सरकारले नयाँ विधेयक ल्याएको छ : मन्त्री यादव


काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम न्यूनीकरण गर्ने लक्ष्यसहित सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक अघि बढाएको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा मन्त्री यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध गर्ने व्यवस्था मात्र व्यावहारिक नहुने धारणा राखे। त्यसैले मुलुकको सामाजिक तथा आर्थिक अवस्थालाई ध्यानमा राखेर बालश्रम न्यूनीकरण र व्यवस्थापन गर्ने उद्देश्यले कानुन निर्माण गर्न खोजिएको उनको भनाइ थियो।

मन्त्री यादवले बालबालिकालाई विद्यालयबाट टाढा राखेर श्रममा लगाउने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै उनीहरूलाई विद्यालयमै टिकाइराख्नुपर्नेमा जोड दिए। यद्यपि गरिबी, पारिवारिक कठिनाइ र अभिभावकविहीनताका कारण संरक्षणको अभावमा रहेका बालबालिकाको अवस्थालाई पनि राज्यले सम्बोधन गर्नुपर्ने उनले बताए।

उनका अनुसार नेपालको वस्तुस्थितिलाई ध्यानमा राख्दै वैज्ञानिक आधारमा १३ वर्षसम्मका बालबालिकालाई श्रममा लगाउन रोक लगाउने प्रस्ताव गरिएको छ। त्यस्तै, १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई घरमा आमाबुबालाई सघाउनेजस्ता सामान्य काममा मात्रै सीमित राख्ने प्रस्ताव विधेयकमा गरिएको छ।

त्यसैगरी, १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि छुट्टै वर्गीकरण गरी अनुसूचीमार्फत आवश्यक व्यवस्था प्रस्ताव गरिएको मन्त्री यादवले जानकारी दिए।

उनले विधेयकमा बालश्रम निषेध तथा नियमनका साथै बालबालिकाको उद्धार, पुनःस्थापना र पुनःएकीकरणका विषयलाई समेत समेटिएको बताए। बालश्रमसम्बन्धी समस्यालाई समग्र रूपमा सम्बोधन गर्ने गरी विधेयक तयार पारिएको उनको भनाइ छ।