काठमाडौँ । बिहान ठीक ९ बजे– सिंहदरबारको मुख्य प्रशासनिक भवनको मूल ढोकाअगाडि विगतमा जस्तो आजकाल न नेता-कार्यकर्ताको अस्वाभाविक भीड छ, न त ‘हजुर, मेरो फाइल अड्कियो’ भन्दै चाकडी बजाउन आउने ठेकेदार र बिचौलियाहरूको लर्को नै।
प्रधानमन्त्री बालेन्द्र शाह ठीक समयमा कार्यकक्षमा प्रवेश गर्छन् र साँझ ५ बजेसम्म नियमित प्रशासनिक तथा नीतिगत फाइलहरूको चाङ छिचोल्छन्।
मुलुकको कार्यकारी प्रमुखको कुर्सीमा बालेन शाहको आगमनसँगै दशकौँदेखि जकडिएको परम्परागत शासन प्रणाली र सिंहदरबारको सुस्त कार्यसंस्कृतिमा आमूल फेरबदलको अभ्यास सुरु भएको छ। विगतमा राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री बन्दा देखिने दलीय घेराबन्दी र कर्मकाण्डी शैलीलाई चिर्दै प्रम बालेनले सरकार सञ्चालनमा नितान्त भिन्न कार्यशैली भित्र्याएका छन्।
विगतका सरकारप्रमुखहरूको दिनचर्या प्रायः सरकारीनिवास बालुवाटारमै बित्ने गर्थ्यो। बिहानैदेखि राति अबेरसम्म सांसद, पार्टी कार्यकर्ता, ठेकेदार र चन्दादाता व्यापारीको भीडले बालुवाटार भरिभराउ हुन्थ्यो। सत्ताको शक्ति–अभ्यास सिंहदरबारभन्दा बालुवाटारको कोठे बैठकबाट चल्ने परम्परा थियो। तर, अहिले त्यो दृश्य ठ्याक्कै उल्टिएको छ।
प्रधानमन्त्री बालेनले बालुवाटारलाई विशुद्ध निजी निवासका रूपमा सीमित पारेका छन्, जहाँ सरकारी, गैरसरकारी वा दलीय बैठक, भेला र भोजभतेर पूर्णतः निषेध गरिएको छ। सरकारको सम्पूर्ण प्रशासनिक र नीतिगत गतिविधि सिंहदरबारमै केन्द्रित भएपछि शक्ति केन्द्रको परम्परागत गुरुत्वाकर्षण बदलिएको छ।
प्रम बालेनको कार्यकालमा देखिएको अर्को हस्तक्षेपकारी परिवर्तन हो— अनावश्यक तामझाम र रिबन काट्ने प्रवृत्तिको अन्त्य। दिनहुँजसो विभिन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेर रिबन काट्ने, लामो भाषण छाँट्ने र उपदेश दिँदै हिँड्ने परम्परागत शैलीबाट बालेन सरकार बाहिर निस्किएको छ। अनावश्यक प्रतिनिधिमण्डल भेटेर समय खेर फाल्ने कर्मकाण्डलाई पनि कडाइका साथ निरुत्साहित गरिएको छ।
यसैगरी, प्रधानमन्त्रीको सवारीका नाममा राजधानीका सडक घण्टौँ ठप्प पार्ने, विमानस्थलमा कार्यकर्ताको लावालस्कर र तडकभडक देखाउने दृश्यहरू यतिबेला लोप भएका छन्। प्रम बालेनको राष्ट्रसंघ भ्रमण र हालैको भारत भ्रमण आउजाउ गर्दा काठमाडौँका सडक र विमानस्थलमा कुनै तडकभडक देखिएन । प्रधानमन्त्रीसँगको निकटता भजाएर काम गराउन खोज्ने वा अनुचित लाभ लिन खोज्ने व्यक्तिहरूमाथि सीधै कानुनी कारबाहीको डन्डा चल्न थालेपछि शक्ति केन्द्रको आडमा हुने चलखेल हच्किएको देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार वर्तमान सरकार सञ्चालनको सबैभन्दा सबल पक्ष पार्टी र सरकारबीचको स्पष्ट कार्यविभाजन हो। प्रम बालेन दलीय साङ्गठनिक कामको बोझबाट पूर्णतः मुक्त छन्। सरकारको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीमा र पार्टी सङ्गठनको जिम्मा सभापति रवि लामिछानेमा केन्द्रित हुँदा कार्यपालिका दलीय निर्देशन र दबाबबाट स्वतन्त्र देखिएको छ। वास्तविक कार्यकारी अधिकारको अभ्यास गरिरहेका प्रम बालेनले सरकारका हरेक निर्णयको जस–अपजसको पूर्ण जवाफदेहिता आफैँले लिने नीति लिएका छन्।
प्रधानमन्त्रीको यो कार्यशैलीको सीधा कम्पन मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्रमा परेको छ। सिंहदरबार र अन्य सरकारी निकायमा वर्षौँदेखि समानान्तर सत्ता चलाउँदै आएका कर्मचारीका दलीय भ्रातृ सङ्गठनहरू यतिबेला निष्क्रियप्रायः छन्। ती सङ्गठनको आडमा हुने अराजकता, सरुवा–बढुवामा हुने दादागिरी र बिचौलियागिरी नियन्त्रणमा आएको सिंहदरबारकै अधिकारीहरू स्वीकार्छन्।
खटाइएको वा सरुवा भएको कार्यक्षेत्रमा जान आलटाल गर्ने कर्मचारीको पुरानो प्रवृत्तिमा उल्लेख्य सुधार देखिएको छ। सरकारले जतिबेला पनि कारबाही गर्न सक्छ र हामी निरन्तर निगरानीमा छौँ भन्ने मनोवैज्ञानिक दबाब प्रशासनिक संयन्त्रमा परेको छ।
कम्तीमा प्रधानमन्त्रीले बिचौलिया र स्वार्थ समूहको कुरा सुन्दैनन् भन्ने स्पष्ट सन्देश प्रवाह भएसँगै हरेक क्षेत्रका दलाल र बिचौलियाहरूको नींद हराम भएको छ। परम्परागत राजनीतिक संस्कारको ठाउँमा नतिजामुखी र अनुशासित प्रशासनिक अभ्यास स्थापित गर्ने यो प्रयासले सिंहदरबारको मुहार साँच्चिकै फेरिन थालेको आभास आम नागरिकले गर्न थालेका छन्।




प्रतिक्रिया