गगन नेतृत्वको कांग्रेसको कार्यसमितिलाई निर्वाचन आयोगले गर्‍यो अद्यावधिक


काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।

आयोगले बुधबार कार्यसमितिको विवरण अद्यावधिक गरी सम्बन्धित पक्षलाई पत्राचार गरेको प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापाको नेतृत्वमा रहेको कार्यसमितिले गरेको महाधिवेशनलाई आयोगले मान्यता दिँदै विवरण अद्यावधिक गरेको हो।

महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यस्तै, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित २० जना पदाधिकारी र २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ गते महाधिवेशन गर्ने तयारीसहित निर्वाचन कार्यतालिका समेटेर आयोगमा पत्र बुझाएको थियो।

तर आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आफ्नो पूर्वनिर्णयलाई निरन्तरता दिँदै सोही कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।