‘देश विकासका लागि स्थानीय तह गैरदलीय हुनुपर्छ’- खनाल


काठमाडौँ । देशभक्त नागरिक समाजका अध्यक्ष रञ्जन खनालले देशको समग्र विकासका लागि स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित ‘स्थानीय तहमा गैरदलीय निर्वाचन आवश्यकता किन र स्वतन्त्र नागरिक अभियानको भूमिका के रहन्छ’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष खनालले राजनीतिक दलको प्रभावभन्दा बाहिर रहेर स्थानीय सरकार सञ्चालन गर्न सके मात्र तल्लो तहमा प्रभावकारी विकास सम्भव हुने बताए।

उनले जेनजी विद्रोह, फागुन २१ को निर्वाचन र रास्वपाको दुई तिहाइ निकट सरकार गठनपछिको वर्तमान राजनीतिक सन्दर्भ औँल्याउँदै संसद्भित्रै अध्यादेश र संविधान संशोधनको प्रक्रिया सुरु भएको उल्लेख गरे। यही सन्दर्भमा स्थानीय तहलाई गैरदलीय बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो।

खनालले छिमेकी मुलुक भारतको उदाहरण दिँदै भने, ‘देश विकासका लागि स्थानीय तह गैरदलीय हुनुपर्छ, भारतमा पनि त्यस्तै छ।’
प्रधानमन्त्री बालेन विगतमा स्थानीय तहमा गैरदलीय हैसियतमा मेयर निर्वाचित भएको प्रसंग जोड्दै उनले अब देशैभरि स्थानीय तह गैरदलीय हुनुपर्ने मागसहित जिल्ला–जिल्लामा अभियान सञ्चालन गरिरहेको जानकारी दिए। अध्यक्ष खनालका अनुसार उक्त अभियानले हालसम्म लाखौँ मतदाताको मन छुन सफल भएको छ।
यसैगरी उनले विदेशमा रहेका नेपाली नागरिकको खोसिएको वंशजको नागरिकताको विषय र प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाइनुपर्ने माग पनि जोडदार रुपमा उठाएका छन् ।