भ्रष्टाचार र विभेद रोक्न स्थानीय तहमा गैरदलीय निर्वाचन आवश्यक : डा. काफ्ले


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका सल्लाहकार डा. नन्द काफ्लेले स्थानीय तहमा व्याप्त भ्रष्टाचार, विभेद र दलीय स्वार्थ अन्त्य गर्न गैरदलीय निर्वाचन प्रणाली अपरिहार्य रहेको बताएका छन् ।

‘स्थानीय तहमा गैरदलीय निर्वाचन आवश्यकता किन र स्वतन्त्र नागरिक अभियानको भूमिका के रहन्छ’ विषयमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. काफ्लेले दलीय संरचनामा आधारित स्थानीय निर्वाचनले जनप्रतिनिधिलाई जनताप्रति भन्दा पार्टीप्रति बफादार बनाएको दाबी गरे ।

उनले दलीय नाममा निर्वाचन हुँदा स्थानीय तहको कुल बजेटमध्ये ५० प्रतिशतसम्म रकम दलका कार्यकर्ताहरूले बाँडीचुँडी खाने गरेको आरोप लगाए । “भ्रष्टाचार नियन्त्रण गर्नकै लागि पनि स्थानीय तहमा गैरदलीय निर्वाचन आवश्यक छ,” उनले भने ।

कतिपय स्थानीय तहमा दलीय जनप्रतिनिधिहरूले आफूलाई मत नआएको टोलमा विकास निर्माणमा विभेद गर्ने तथा भोट नहालेका मतदातालाई सिफारिस र अन्य सेवा प्रवाहमा समेत दुःख दिने गरेको पाइएको उनको भनाइ छ ।

पुराना राजनीतिक दलहरू कांग्रेस, एमाले र नेकपाप्रति लक्षित गर्दै डा. काफ्लेले ती दलहरू जनतामाझ जाने, गुमराहमा राखेर चुनाव जित्ने र सत्तामा पुगेपछि जनताका गुनासा नसुन्दा साँघुरिँदै गएको टिप्पणी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो विधानमा स्थानीय तहलाई गैरदलीय बनाउने व्यवस्था उल्लेख गरे पनि व्यवहारमा त्यसविपरीत काम गरिरहेको उनले आरोप लगाए । “रास्वपाले स्थानीय तह चुनावका लागि गाउँ-गाउँ गएर चुनावी क्लबमार्फत उम्मेदवार छान्दै छ,” उनले भने, “यो रास्वपाकै विधानविपरीतको कार्य हो ।”

जनताको सेवा र स्थानीय विकासलाई प्रभावकारी बनाउन दलीय सिन्डिकेट तोडेर क्षमतावान् स्वतन्त्र व्यक्तिलाई अघि सार्नुपर्ने र त्यसका लागि गैरदलीय निर्वाचनको वातावरण बनाउनुपर्नेमा डा. काफ्लेले जोड दिए ।