इलाम । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को मङ्सिर ९ गतेसम्म अवैध रूपमा चोरी पैठारी तथा निकासी गरिएका १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।
गुल्मले इलामको सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको कारबाहीका क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता–चप्पल, मदिराजन्य पदार्थलगायतका सामान नियन्त्रणमा लिएको हो ।
बरामद सामग्रीमध्ये १ सय ७८ कार्टुन अर्थात् ३ हजार ५ सय ६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, ५ सय ७० किलो फर्सीको बियाँ तथा जुत्ता–चप्पललगायतका सामान रहेका छन् ।
सशस्त्र प्रहरीले सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा क्षेत्र तथा खोलागोदाम आसपासबाट ती सामग्री बरामद गरेको जनाएको छ । बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसेका सुरक्षाकर्मी सम्मिलित संयुक्त टोलीले विभिन्न समयमा गरेको गस्ती तथा निगरानीका क्रममा सामान नियन्त्रणमा लिएको हो ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, चोरी पैठारी तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले नियमित गस्ती, पेट्रोलिङ र निगरानीलाई तीव्रता दिँदै आएको छ ।
यस अभियानमा सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाको भूमिका पनि उल्लेखनीय रहेको बताइएको छ । सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति समेत रहेका थापाले छोटो समयमै सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि सक्रियता देखाउँदै आएका छन् ।




प्रतिक्रिया