नैरोबी । केन्यामा झन्डै २०० बालबालिकाको भोकै राखेर हत्या गरेको अभियोगमा २०० वर्षको जेल सजाय भोगिरहेका धर्मगुरु पल म्याकेन्जीलाई नयाँ मुद्दामा पनि दोषी ठहर गरिएको छ ।
म्याकेन्जीलाई बालबालिकामाथि क्रूर व्यवहार गरेको पाँच अभियोग र शारीरिक कुटपिटबाट चोट पुर्याएको एक अभियोगमा अदालतले दोषी ठहर गरेको हो । उनलाई नयाँ मुद्दामा सजाय भने पछि सुनाइनेछ ।
म्याकेन्जीले केन्याको हिन्द महासागर तटीय क्षेत्र नजिकैको जंगलमा प्रलयकारी धार्मिक विचार फैलाउने चर्च चलाउँदै आएका थिए । उनले आफ्ना अनुयायीहरूलाई संसारको अन्त्य हुनुअघि स्वर्ग पुग्न उपवास बस्नुपर्ने भन्दै आफू र आफ्ना छोराछोरीलाई समेत खाना नखुवाउन निर्देशन दिएको आरोप छ ।
मोम्बासास्थित टोनोंका बाल अदालतकी न्यायाधीश नेली चेप्चिरचिरले म्याकेन्जीले शाकाहोला समुदायका अभिभावकलाई आफ्ना बालबालिकालाई मृत्यु नहुँदासम्म खाना नदिन सिकाएको ठहर गरिन् ।
‘शाकाहोलामा पहिलो अभियुक्त म्याकेन्जीले सबैलाई मृत्युसम्म उपवास बस्न सिकाएको र त्यसमा सबैभन्दा पहिले बालबालिका, त्यसपछि महिला र अन्त्यमा पुरुष मर्नुपर्ने शिक्षा दिएको अदालत ठहर गर्छ,’ न्यायाधीशले फैसलाका क्रममा भनिन् ।
फैसलाका बेला म्याकेन्जी शान्त देखिएका थिए । उनले बीचबीचमा मुस्कुराएको समेत देखिएको थियो । उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । अदालतले बालबालिकामाथि यातना दिएको लगायतका केही अन्य अभियोगमा भने उनलाई सफाइ दिएको छ ।
म्याकेन्जीमाथि आतंकवाद, धार्मिक कट्टरपन्थीकरण र सामूहिक हत्यासम्बन्धी अन्य मुद्दा पनि विचाराधीन छन् । यसअघि यसै महिनाको सुरुवातमा उच्च अदालतले भोकै राखेर हत्या गरेको अभियोगमा उनलाई १०० वर्ष र प्रत्यक्ष हत्याको अभियोगमा थप १०० वर्ष जेल सजाय सुनाएको थियो ।
शाकाहोला सामूहिक हत्याले केन्या स्तब्ध
सन् २०२३ को अप्रिलमा मालिन्दी तटीय क्षेत्र नजिकैको शाकाहोला जंगलमा प्रहरीले शवहरू फेला पार्न थालेपछि उक्त सामूहिक हत्याको घटना सार्वजनिक भएको थियो । म्याकेन्जीका अनुयायीमध्ये करिब ५०० जना पीडित भएको आशंका गरिएको छ । केही बालबालिकालाई जिउँदै गाडिएको र केही शव शौचालयका खाल्डोमा फालिएको समेत अनुसन्धानमा खुलेको थियो ।
घटनाले धार्मिक समूहहरूमाथि सरकारी निगरानी बढाउनुपर्ने माग चर्काएको छ । तर धार्मिक समूहलाई नियमन गर्ने सरकार र संसद्का प्रस्तावहरू अझै कानुन बन्न सकेका छैनन् ।
सन् २०२३ मा केन्याका राष्ट्रपति विलियम रुटोले यति ठूलो घटना रोक्न सरकार असफल भएको भन्दै राष्ट्रप्रमुखका रूपमा आफूले जिम्मेवारी लिने बताएका थिए । शाकाहोला सामूहिक हत्यालाई सन् २००० मा युगान्डामा ७०० भन्दा बढी मानिसको ज्यान गएको प्रलयकारी धार्मिक समूहको घटना तथा सन् १९७८ मा गुयानाको जोन्सटाउनमा धार्मिक समूहका नेताले विष सेवन गराएर ९०० भन्दा बढी मानिसको ज्यान लिएको घटनासँग तुलना गरिन्छ ।




प्रतिक्रिया