नवलपुरमा बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते


कावासोती । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी निवासी ३० वर्षीय चुरेन्द्र चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राति १०:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनामध्ये आठ जनालाई थप उपचारका लागि राति ११:५५ बजे चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको छ । रिफर गरिएकामध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरीको मुख र छातीमा तथा २० वर्षीय निर्मल चौधरीको टाउकोमा चोट लागेको छ । उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ ।

त्यस्तै, भरतपुर रिफर गरिएका अन्य घाइतेमा विनयी त्रिवेणी–४ सर्दीका १६ वर्षीय रविन चौधरी र २० वर्षीय रिजन चौधरी रहेका छन् । उनीहरूको अवस्था मध्यम छ । सोही स्थानका २३ वर्षीय विशाल राना, १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा र १९ वर्षीय युवराज चौधरीको अवस्था भने सामान्य रहेको छ ।

दुर्घटनामा घाइते भएका अन्य पाँच जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सर्दीका २६ वर्षीय सुमेन्द्र चौधरी र अरुणखोलाका २१ वर्षीय आदिश आले रहेका छन् । उनीहरू क्रमशः मध्यम र सामान्य अवस्थामा रहेका थिए ।

यसैगरी, मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार गरिएका अरुणखोलाका १५ वर्षीय प्रिन्स विक तथा सेवा मेडिकल अरुणखोलामा उपचार गरिएका ४० वर्षीय खेमनारायण चौधरी र २६ वर्षीय घनश्याम चौधरी पनि राति ११:५५ बजे डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।