काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल आज स्वदेश फर्कने भएको छ । रास्वपाका महामन्त्रीको नेतृत्वमा रहेको टोलीले नोभेम्बर १५ देखि २६ सम्म चीनका विभिन्न सहरको भ्रमण गरेको हो ।
रास्वपाका सचिवालय सदस्य एवं संसदीय दलका उपनेता गणेश पराजुलीले भ्रमणलाई दुई देशका राजनीतिक दलबीच आपसी समझदारी बढाउने तथा नेपाल–चीन सम्बन्ध र सहकार्यका नयाँ सम्भावनाबारे छलफल गर्ने अवसरका रूपमा व्याख्या गरेका छन् ।
भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग पनि भेटवार्ता गरेको थियो । करिब डेढ घण्टा चलेको उक्त छलफलमा दुई पार्टीबीच आपसी दृष्टिकोण, अनुभव र भविष्यमा हुन सक्ने सहकार्यका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ ।
चीनमा रहँदा टोलीले छेन्दु, हाङझाउ र बेइजिङका विभिन्न विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र ऐतिहासिक एवं सांस्कृतिक स्थलहरूको अवलोकन गरेको थियो । यसका साथै वेनचुआनमा भूकम्पपछिको पुनर्निर्माण, प्रभावित बस्तीको पुनःस्थापना र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन अपनाइएका उपायबारे पनि स्थलगत जानकारी लिएको थियो ।
चिनियाँ निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म पुर्याउने, नेपालमा लगानीका अवसर पहिचान गर्ने र आर्थिक साझेदारी विस्तार गर्ने विषयले प्राथमिकता पाएको रास्वपाले जनाएको छ ।
भ्रमणका क्रममा युवा सीप तथा क्षमता विकास, पर्यटन प्रवर्द्धन, उद्योग, ऊर्जा, पूर्वाधार, व्यापार र विपद् व्यवस्थापनलगायतका विषयमा समेत छलफल भएको थियो ।
यी छलफल र भेटघाटबाट प्राप्त अनुभव तथा सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रसँग सहकार्य गर्दै पार्टीका तर्फबाट आवश्यक पहल गरिने रास्वपाले जनाएको छ ।




प्रतिक्रिया