इन्डोनेसियामा अवैध सुनखानीमा पुरिएका १३ जनाको खोजी पुनः सुरु गरिँदै


जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा अवैध सुनखानीभित्र पुरिएका १३ जना कामदारको खोजी बिहीबार पुनः सुरु गरिने भएको छ । उक्त दुर्घटनामा अहिलेसम्म १३ जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ ।

राजधानी जकार्ताको दक्षिणमा पर्ने बोगोर क्षेत्रमा सोमबार २६ जना कामदार खानीभित्र प्रवेश गरेका थिए । त्यसै दिन भारी वर्षाका कारण खानीको सुरुङमा पानी भरिएपछि उनीहरू करिब १०० मिटर भूमिगत भागमा फसेका थिए ।

पश्चिम जाभाका प्रहरी प्रमुख हेङ्कीका अनुसार मृत्यु पुष्टि भएका १३ जनामध्ये ६ जनाको पहिचान भइसकेको छ । मौसम प्रतिकूल नभए बिहीबार उद्धार तथा खोजी कार्य जारी राखिने उनले बताए । 

खानीसम्म पुग्ने सुरुङ साँघुरो, चिप्लो र अँध्यारो भएकाले उद्धारकर्तालाई कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । इन्डोनेसियाको खोज तथा उद्धार निकायका अनुसार उद्धार टोलीले दुई वटा खानी सुरुङमा केन्द्रित भएर खोजी गरिरहेको छ ।

उद्धारकर्ताहरू डोरीको सहायताले सुरुङभित्र प्रवेश गरिरहेका छन् । तर, खानीको १०० मिटर गहिराइले खोजी कार्यलाई थप जटिल बनाएको छ । इन्डोनेसियामा दुर्गम क्षेत्रमा रहेका खनिज स्रोतहरूको नियमन गर्न कठिन हुँदा साना स्तरका तथा अवैध खानी सञ्चालनका कारण बारम्बार दुर्घटना हुने गरेका छन् ।

स्थानीय सञ्चारमाध्यम डेटिकका अनुसार यसै क्षेत्रमा गत जनवरीमा पनि अवैध सुनखानीमा कार्बन मोनोअक्साइड ग्यास विषाक्तताका कारण केही खानी कामदारको मृत्यु भएको थियो । एजेन्सी