काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णय प्रक्रियामा प्रधानमन्त्री कार्यालयको संलग्नताबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
गत १७ कात्तिकमा कांग्रेसको आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् तथा संसदीय समितिका बैठक सञ्चालन गर्न माग गरेको थियो । सोही मागअनुसार मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकले सरकारलाई सात बुँदे निर्देशन जारी गरेपछि आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
उनका अनुसार आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको विषय गम्भीर छ । यसले सरकारी निर्णय प्रक्रिया र राज्य सञ्चालनको विधिमाथि नै प्रश्न उठाएको उनको भनाइ छ ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले ठेक्का रद्द गर्ने अधिकार सरकारसँग भए पनि कानुनविपरीत काम गर्ने छुट कसैलाई नरहेको उल्लेख गरेका छन् ।
उनले प्रधानमन्त्री कार्यालयको भूमिका र ठेक्का रद्द गर्ने निर्णय प्रक्रियाको स्वतन्त्र छानबिन हुनुपर्ने माग गर्दै कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दिएको हो भन्ने प्रश्नसमेत उठाएका छन् ।
‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातना गृह ?’ भन्दै उनले यस घटनाको जिम्मेवारी कसले लिने भन्नेबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । साथै, ठेक्का रद्द गर्ने कानुनी आधार र त्यसबाट राज्यलाई हुन सक्ने आर्थिक क्षतिको जिम्मेवारीबारे पनि स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
मंगलबारको सार्वजनिक लेखा समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको पालना र राज्य शक्तिको प्रयोगबारे प्रश्न उठाएका थिए । समितिले आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सुनकोशी–मरिण आयोजना राष्ट्रिय गौरवको परियोजना हो । आयोजनाअन्तर्गत १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भइसकेको अवस्थामा सरकारी निर्णय र प्रशासनिक हस्तक्षेपका कारण परियोजना प्रभावित हुन नहुने आङ्देम्बेको धारणा छ ।




प्रतिक्रिया