नागरिक लगानी कोषलाई ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन सांसदहरूको सुझाव


काठमाडौँ । सांसदहरूले नागरिक लगानी कोषको लगानीको दायरा फराकिलो बनाउँदै ठूला पूर्वाधार तथा रणनीतिक परियोजनामा लगानी बढाउन सुझाव दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूले कोषको लगानी सीमित रहेको उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने धारणा राखेका हुन् ।

बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले पीपीपी मोडलमा लगानी गर्न कानुनले नागरिक लगानी कोषलाई नरोक्ने भन्दै त्यस्ता क्षेत्रमा लगानी बढाउन आग्रह गरे । बुट मोडलमा निर्माण हुने सुरुङमार्गलगायत दीर्घकालीन पूर्वाधार परियोजनामा सरकारले लगानीको अवसर उपलब्ध गराउने भएकाले कोष पनि सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

अस्पताल तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा समेत पीपीपी मोडलमार्फत सहकार्य गर्न सकिने खड्काले बताए । आफ्नो गृहजिल्ला बागलुङमा दैनिक पाँचदेखि छ सय जनासम्मले ओपीडी सेवा लिने अस्पताल रहेको उल्लेख गर्दै उनले त्यसलाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याए । सरकारले एक्लै लगानी गर्न नसक्ने अवस्थामा नागरिक लगानी कोषजस्ता संस्थासँग सहकार्य गरेर अघि बढ्न सकिने उनले बताए ।

कोषले लगानीको दायरा र सम्भावना फराकिलो बनाउनुपर्नेमा जोड दिँदै खड्काले लगानी व्यवस्थापनमा कर्मचारीको परिचालन र कार्यसम्पादन दक्षता देखिए पनि प्रतिफल तथा इक्विटीको अवस्था अपेक्षाकृत न्यून रहेको बताए ।

योगदानकर्ताको रकम परिचालन गर्ने भएकाले कोषले अत्यधिक जोखिम लिएर आक्रामक लगानी गर्न नहुने उनको धारणा थियो । तर, जोखिमको कारण देखाउँदै सम्भावित लगानीका अवसरबाट पछि हट्न पनि नहुने उनले स्पष्ट पारे ।

हाल कोषले दुईवटा क्षेत्रमा मात्रै लगानी गरेको र तीमध्ये पनि करिब ५० प्रतिशत लगानी कोषकै रहेको देखिएको उल्लेख गर्दै उनले नयाँ क्षेत्र तथा सम्भावनाको खोजी गर्नुपर्ने बताए । यस विषयमा अर्थ मन्त्रालयका सचिवसँग समेत छलफल गरी आवश्यक समाधान खोजिने उनले जानकारी दिए ।

लगानी विस्तार र नीतिगत सुधारका क्रममा कोषलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न संसदीय समिति तयार रहेको पनि खड्काले बताए । आवश्यक परे अर्थ मन्त्रालय तथा सरकारलाई निर्देशन दिन सकिने र कोषमाथि कुनै प्रकारको विभेद भएको विषय उठे त्यसलाई समितिले गम्भीरतापूर्वक हेर्ने उनको भनाइ थियो ।

सामाजिक सुरक्षा कोषमा सबैलाई अनिवार्य आबद्ध गराउने व्यवस्था गरिए पनि नागरिक लगानी कोषलाई सोहीअनुसार प्रोत्साहन नगरिएको खड्काले उल्लेख गरे । राज्यले आफ्नै निकायमध्ये एउटालाई प्रवर्द्धन गर्ने र अर्कोलाई उपेक्षा गर्ने नीति लिन नहुने भन्दै उनले यस्तो व्यवहार प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि उचित नहुने बताए ।

बैठकमा नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले अधुरा तथा अलपत्र परेका योजना अघि बढाउन नागरिक लगानी कोषले पहल गर्नुपर्ने बताए । पर्यटन, आर्थिक गतिविधि, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने परियोजना कोष आफैँले छनोट गरी कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने उनको सुझाव थियो ।

‘फिजिबिलिटी स्टडी भएर अलपत्र परेर बसेका प्रोजेक्टहरूलाई अघि बढाउन सकियो भने पर्यटनदेखि लिएर आर्थिक गतिविधि, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा योगदान पुग्न सक्छ,’ केरुङले भने ।

ऐन तथा कानुनका कारण लगानी विस्तारमा बाधा पुगेको भए त्यसलाई संशोधन गर्ने उपयुक्त समय यही भएको उल्लेख गर्दै उनले कार्यकारी निर्देशकले आवश्यक पहल गरे सबै पक्षले साथ दिन सक्ने बताए ।