सियोल, १० मङ्सिर । दक्षिण कोरियाको केन्द्रीय बैङ्कले बिहीबार ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा पुर्याएको छ । मुद्रास्फीति नियन्त्रण गर्न यो कदम चालिएका बैङ्कल जनाएको छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) को मागका कारण निर्यात रेकर्ड उच्च तहमा पुगेपछि बैङ्कले आर्थिक वृद्धिदरको प्रक्षेपण पनि बढाएको छ ।
कोरियाली केन्द्रीय बैङ्कले ऋण लागत २५ आधार बिन्दुले बढाएर ३.२५ प्रतिशत पु¥याएको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो र मुद्रास्फीति दुई प्रतिशतको लक्ष्यभन्दा धेरै माथि रहेका बेला यो निर्णय आएको हो ।
गत महिना उपभोक्ता मूल्य सूचकाङ्क २.८ प्रतिशत रह्यो । अस्थिर खाद्य र ऊर्जा खर्च हटाएर निकालिने मूल मुद्रास्फीति पनि त्यति नै रहेको छ । अधिकारीहरूले एशियाको चौथो ठूलो अर्थतन्त्रले यस वर्ष ३.९ प्रतिशत र सन् २०२७ मा ४.१ प्रतिशतले विस्तार हुने अपेक्षा गरेका छन् । एआईसम्बन्धी चिप्सको बलियो निर्यातका कारण यो सम्भव भएको हो ।
“मध्यपूर्वमा तनाव कायमै रहे पनि विश्व अर्थतन्त्र एआईमा भएको बलियो लगानीका कारण ठोस वृद्धि प्रवृत्ति कायम राख्ने अपेक्षा छ,” बैङ्कले भनेको छ । यसैबीच ऊर्जा मूल्य वृद्धिले प्रभाव फराकिलो बनाउँदै गएका कारण मुद्रास्फीति केही समयसम्म उच्च नै रहने प्रक्षेपण छ ।
साम्सुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता अग्रणी चिप्स निर्माता भएको दक्षिण कोरियाले यस वर्ष पहिलो पटक निर्यात एक ट्रिलियन डलर पुगिसकेको यसै महिना घोषणा गरेको थियो ।
विश्वव्यापी एआई विकासका कारण सेमीकन्डक्टरको माग बढेपछि यो सम्भव भएको हो । सन् २०२६ मा अहिलेसम्म संयुक्त राज्य अमेरिका, चीन र जर्मनी मात्रै यो कोसेढुङ्गा पार गरेका छन् ।
केन्द्रीय बैङ्कले भनेको छ, “फस्टाउँदो चिप्स क्षेत्रले निर्यात र लगानी वृद्धि बलियो बनाइराख्नेछ भने बढ्दो आम्दानी र सरकारी खर्च वृद्धिले उपभोगमा क्रमिक सुधारलाई सहयोग पुर्याउने अपेक्षा छ ।
“भविष्यको वृद्धि मार्ग अनिश्चिततामा निर्भर छ । सेमीकन्डक्टर क्षेत्रको विस्तार घरेलु अर्थतन्त्रसम्म कति फैलिन्छ र मध्यपूर्वको अवस्था कस्तो हुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ,” बैङ्कले भनेको छ । गभर्नर शिन ह्युन–सोङले यस सम्बन्धमा बिहीबार नै पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । रासस




प्रतिक्रिया