काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण ऐतिहासिक र फलदायी भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रम बालेनको भारत भ्रमणका क्रममा नेपालले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको दाबी गरे ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेनलाई न्यानो स्वागत गरेको र सोही सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय वार्ता सम्पन्न भएको धमलाले उल्लेख गरे ।
वार्ताको मुख्य उपलब्धिका रूपमा नेपालले हवाई मार्ग (एयर रुट) पाएको बताउँदै उनले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने र यसले देशको पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे ।
यस्तै, भारतले नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको जानकारी दिँदै धमलाले उक्त रकम भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा खर्च गरिने हुँदा त्यस क्षेत्रको कायापलट हुने बताए ।
धमलाका अनुसार नेपालमा उत्पादित सबै विद्युत् भारतले खरिद गर्ने सहमति भएको छ । यसका साथै नेपालको कनेक्टिभिटी, सडक पूर्वाधार र पुल निर्माणमा समेत भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । भारतीय प्रधानमन्त्री मोदी पनि छिट्टै नेपाल भ्रमणमा आउन लागेको जानकारी पनि अध्यक्ष धमलाले दिएका छन् ।




प्रतिक्रिया