हिमाली पर्यटन राजमार्गका लागि बजेट सुनिश्चित


काठमाडौँ, १० मङ्सिर । रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि रु पाँच अर्ब बजेट स्रोत सुनिश्चित भएको छ ।

पूर्वाधार विकास मन्त्रालयले रामेछापको विकास, समृद्धि तथा पर्यटन पूर्वाधार विस्तारका दृष्टिले महत्वपूर्ण आयोजनाका रूपमा यसलाई अघि बढाइएको हो ।

रामेछापका सङ्घीय सांसद डा कृष्णहरि बुढाथोकीले सो आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए । रामेछापलाई हिमाली पर्यटनको महत्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्न, स्थानीय उत्पादन तथा पर्यटन व्यवसाय प्रवर्द्धन गर्न र रोजगारीका अवसर सिर्जना गर्न आायोजनाले योगदान गर्नेछ । 

अर्थ समितिका सभापति डा बुढाथोकीले रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधारक्षेत्र जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि बजेट स्रोत सुनिश्चित हुनु रामेछापवासीका लागि खुसीको विषय भएको बताए ।

“यो आयोजना रामेछापको समृद्धिसँग मात्र नभई नेपालको पर्यटन विकास, आर्थिक गतिविधि विस्तार र राष्ट्रिय समृद्धिसँग जोडिएको छ,” उनले भने ।

आगामी दिनमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी रामेछाप हुँदै सगरमाथा आधार शिविरसम्म सडकमार्गबाट सहज यात्रा गर्न सकिने उनले उल्लेख गरे ।