जनकपुरधाम-अयोध्या जोड्ने रेलको भाडा ३६५ देखि १,३६० भारुसम्म, शनिबारदेखि नियमित यात्रा


काठमाडौँ । जनकपुरधाम र भारतको अयोध्या जोड्ने ‘सरयू–कमला’ एक्सप्रेस रेलको भाडादर सार्वजनिक गरिएको छ । भारतीय रेलवेले तय गरेको भाडादरअनुसार यात्रुले श्रेणीअनुसार न्यूनतम ३६५ देखि अधिकतम १ हजार ३६० भारतीय रुपैयाँसम्म तिर्नुपर्नेछ । यही शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको यो रेलको टिकट बिक्री बिहीबारदेखि जनकपुरधाम स्टेसन र भारततर्फ खुला गरिएको छ ।

कति छ श्रेणीअनुसारको भाडा ?

तीर्थयात्री तथा यात्रुको सुविधाका आधारमा चारवटा श्रेणीमा भाडादर तोकिएको छ । स्लिपर श्रेणीको भाडा ३६५ भारतीय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ‘एसी थ्री टियर इकोनोमी’ का लागि ८८५ रुपैयाँ, ‘एसी थ्री टियर’ का लागि ९६५ रुपैयाँ र ‘एसी टु टियर’ का लागि १ हजार ३६० भारतीय रुपैयाँ भाडा तोकिएको छ ।

श्रेणीभाडादर (भारु)
स्लिपर श्रेणी३६५
एसी थ्री टियर इकोनोमी८८५
एसी थ्री टियर९६५
एसी टु टियर१,३६०

अनलाइनमार्फत टिकट बुकिङ गर्न चाहने यात्रुले भारतीय रेलवेको वेबसाइट (आईआरसीटीसी) प्रयोग गर्न सक्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । बिहीबारदेखि जनकपुरधाम रेलवे स्टेसनबाट पनि टिकट बिक्री सुरु गरिएको छ ।

तालिका, डिब्बा र यात्रुका नियम

धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको यो रेल सेवा साप्ताहिक रूपमा सञ्चालन हुनेछ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको यो रेल प्रत्येक शनिबार अपराह्न १:१० बजे जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार भारतीय समयअनुसार साँझ ५:५० बजे अयोध्याबाट जनकपुरधामका लागि छुट्नेछ ।

कुल १७ वटा आधुनिक ‘एलएचबी’ डिब्बा रहने यो रेलमा दुईवटा ‘एसी टु टियर’, तीनवटा ‘एसी थ्री टियर’, तीनवटा ‘एसी थ्री टियर इकोनोमी’, सातवटा स्लिपर क्लास, एउटा लगेज डिब्बा र एउटा पावर कार रहनेछन् । यसमा साधारण (जनरल) र फस्ट एसी डिब्बा राखिएको छैन भने प्रत्येक यात्रुका लागि आरक्षित बर्थ अनिवार्य गरिएको छ । एसी श्रेणीका यात्रुले ओढ्ने–ओछ्याउने सामग्री पाउनेछन् भने स्लिपर श्रेणीमा यो सुविधा उपलब्ध हुने छैन ।

रेलमा नेपाल र भारतका नागरिकले मात्र यात्रा गर्न पाउने व्यवस्था गरिएको छ । यात्राका क्रममा टिकटमा उल्लेखित परिचयपत्रको विवरण जयनगरमा जाँच गरिने परिचयपत्रसँग मेल खानुपर्नेछ । नेपाली नागरिकका लागि नागरिकता वा राहदानी र भारतीय नागरिकका लागि राहदानी वा मतदाता परिचयपत्र मान्य हुनेछन् । १५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका हकमा भने आधारकार्ड पनि मान्य हुने जनाइएको छ ।