पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा


मस्को, १० मङ्सिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बर १० मा वर्षको अन्त्यमा हुने वार्षिक पत्रकार सम्मेलन गर्ने भएका छन् । क्रेमलिनले बिहीबार दिएको जानकारीअनुसार कडा रूपमा नियन्त्रित टेलिभिजन कार्यक्रममा उनले सर्वसाधारण र सञ्चारमाध्यमका प्रश्नको जवाफ दिनेछन् ।

युक्रेनविरुद्ध रुसले युद्ध सुरु गरेको पाँचौँ वर्षगाँठ नजिकिँदै गर्दा पुटिनको यो सम्बोधन हुन लागेको हो । युद्ध अन्त्य गर्न मस्कोले पटकपटक युद्धविरामका प्रस्ताव अस्वीकार गर्दै आएको छ । यसैबीच युद्धमा ठूलो सङ्ख्यामा रुसी सैनिकको ज्यान गएको र त्यसको आर्थिक भार सर्वसाधारणले पनि बेहोर्नुपरेको विश्वास गरिएको छ । सरकारले युद्धप्रति असहमति जनाउनेहरूलाई भने दबाउँदै आएको छ ।

करिब एक चौथाइ शताब्दीदेखि सत्तामा रहेका ७४ वर्षीय पुटिनले पत्रकार सम्मेलनमा धेरै घण्टासम्म बोल्ने गर्छन् । रुसी नागरिकले देशभरबाट फोनमार्फत स्थानीय समस्या र जनजीवनसँग सम्बन्धित प्रश्न राख्छन् भने उनले अन्तर्राष्ट्रिय तथा भू–राजनीतिक विषयमा पनि धारणा सार्वजनिक गर्छन् । कार्यक्रम मस्को समयअनुसार दिउँसो सुरु हुनेछ ।

सन् २००१ देखि नियमित रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम सन् २०२२ मा भने रुसले युक्रेनमा सैन्य कठिनाइ सामना गरिरहेका बेला रोकिएको थियो ।

यस वर्षको पत्रकार सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनलाई आमन्त्रण गरेको जी–२० शिखर सम्मेलनअघि हुन लागेको छ । मियामीमा आयोजना हुने उक्त सम्मेलनमा पुटिन सहभागी हुने वा नहुनेबारे क्रेमलिनले स्पष्ट पारेको छैन । रासस