काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भर्खरै सम्पन्न भारत भ्रमण राष्ट्रहितका एजेन्डाभन्दा बाहिर गएर ‘निजी भ्रमण’ जस्तो बनेको टिप्पणी गरेका छन् । बिहीबार राजधानीमा सम्पादकहरूसँगको संवादमा ओलीले विगतमा ‘स्टन्ट’का लागि महानगर कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँस्ने बालेनले अहिले भारत पुग्दा सीमा विवादबारे एक शब्द पनि उच्चारण नगरेको दाबी गरे ।
भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा सरोकारवालाहरूसँग कुनै संवाद नगरिएको उल्लेख गर्दै ओलीले २५ घण्टे छोटो भ्रमणले गहिरो कूटनीतिक संवादको अवसर गुमाएको बताए । भ्रमणमा नयाँ उपलब्धि केही नभएको र विगतकै विषयको निरन्तरता मात्र रहेको उनको जिकिर थियो ।
आर्थिक सहायता र ईपीजीमाथि प्रश्न
भारतले घोषणा गरेको आर्थिक तथा विकास सहायताप्रति शंका व्यक्त गर्दै ओलीले विगतमा जनकपुर र भूकम्पपछिको पुनर्निर्माणमा प्रतिबद्धता जनाइएको रकम नै नआएको स्मरण गराए । पुराना अनुभव हेरेर यसपटकको घोषणामा मख्ख नपर्न उनले सचेत गराए ।
दुई देशको समझदारीमा बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र एजेन्डालाई बीचैमा असान्दर्भिक घोषणा गर्न खोजिएको भन्दै ओलीले सरकारको कडा आलोचना गरे । सीमालगायतका विषयमा अघि बढ्न तयार पारिएको ईपीजीमा सरकारले अनुचित ढंगले अडान छाडेको उनको आरोप थियो ।
‘हुल्लडबाज’ र एसपीपीको प्रसंग
संवादका क्रममा ओलीले पोहोर भदौमा आफू संवैधानिक ढंगले नभई ‘हुल्लडबाजहरू’बाट अपदस्थ गरिएको बताए । यस्तै, अमेरिकी रक्षा तथा सुरक्षा रणनीतिसम्बन्धी कार्यक्रम (एसपीपी) हस्ताक्षरका लागि मस्यौदा तयार पारिएको अवस्थामा आफूले नै असफल पारिदिएको दाबीसमेत उनले प्रस्तुत गरे ।
सम्पादकहरूले आफ्नो नेतृत्वको सान्दर्भिकता र उमेरबारे उठाएको प्रश्नको जवाफ दिँदै ओलीले आफ्ना गलत नीति भए लेखेर दिन चुनौती दिए । “खालि हट् हट् मात्रै नभन्नुहोस् । ट्रम्प, मोदी सबै बुढा छन्, म आज एकैदिनमा बुढो भएको होइन । पहिलोचोटि प्रधानमन्त्री बन्ने बेला पनि म बुढै थिएँ,” उनले भने ।
प्रेस, न्यायालय र संवैधानिक अंगप्रति असन्तुष्टि
वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ओलीले प्रेस स्वतन्त्रता, न्यायालय र संवैधानिक अंगहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाए :
- प्रेस स्वतन्त्रता : मिडियामै प्रहरी घुस्दा र सरकारले प्रेसलाई कडा व्यवहार गर्दा पनि प्रेस जगतबाट पर्याप्त प्रतिवाद नभएको भन्दै उनले पञ्चायत र शाही शासनकालको प्रतिरोध स्मरण गराए ।
- न्यायालय र संवैधानिक अंग : न्यायालयको न्यायसम्पादनमा सरकारी प्रभाव देखिएको संकेत गर्दै उनले संवैधानिक अंगहरूको काम चित्तबुझ्दो नरहेको र शासकले पनि अदालतको मान राख्नुपर्ने बताए ।
मुलुकमा ‘लोकतन्त्र फिर्ता’का लागि आन्दोलन आवश्यक रहेको तर्क अघि सार्दै एमालेले स्थानीय र प्रदेश निर्वाचन एकैसाथ गर्न नहुने अडान लिएको छ । संविधान र लोकतन्त्रको मर्मअनुसार दुवै तहका चुनाव आ-आफ्नै निर्धारित अवधिमा हुनुपर्ने ओलीको भनाइ थियो ।




प्रतिक्रिया