चीन भ्रमणको उपलब्धिबारे रविलाई विपिन आचार्यले गरे यस्ताे ब्रिफिङ


काठमाडौँ । चीनको १२ दिने भ्रमण सकेर फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ता, आर्थिक गतिविधिको अवलोकन तथा नेपाल–चीन सहकार्यका सम्भावनाबारे पार्टी सभापति रवि लामिछानेलाई जानकारी गराएको छ ।

शुक्रबार पार्टी महामन्त्री तथा भ्रमण टोलीका संयोजक विपिनकुमार आचार्यले सभापति लामिछानेसँग भेट गरी भ्रमणका उपलब्धि र अनुभवबारे ब्रिफिङ गरेका हुन् ।

आचार्य नेतृत्वको २० सदस्यीय टोली नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमणमा गएको थियो । टोली नोभेम्बर २६ मा स्वदेश फर्किएको हो ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्तालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ । उक्त भेटमा दुई पार्टीबीचको सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको आचार्यले जानकारी गराएका थिए ।

त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय तहदेखि स्थानीय काउन्टी तहसम्मका नेताहरूसँग भएका भेटघाट, संवाद र अन्तरक्रियाबारे पनि उनले सभापति लामिछानेलाई जानकारी गराएका थिए ।

राजनीतिक भेटवार्ताबाहेक प्रतिनिधिमण्डलले चीनका विभिन्न उद्योग तथा व्यावसायिक क्षेत्रको अवलोकन गरेको थियो । टोलीले विपद् आउनुअघिको तयारी, विपद्का बेला अपनाइने रणनीति तथा विपद्पछिको व्यवस्थापन प्रणालीबारे समेत अध्ययन गरेको जनाएको छ ।

भ्रमणका क्रममा नेपाल र चीनबीच द्विपक्षीय सहकार्य विस्तार गर्न सकिने सम्भावित क्षेत्रबारे पनि छलफल भएको आचार्यले बताएका छन् ।

ब्रिफिङपछि सभापति लामिछानेले भ्रमणबाट प्राप्त राजनीतिक अनुभव, ज्ञान र सिकाइलाई पार्टीको आन्तरिक कार्यप्रणालीमा समेट्नुपर्नेमा जोड दिएका छन् । साथै, भ्रमणका क्रममा भएका छलफल र स्थापित राजनीतिक सम्बन्धलाई व्यवहारमा रूपान्तरण गर्दै देशको विकाससँग जोड्ने गरी आवश्यक पहल गर्न उनले प्रतिनिधिमण्डललाई निर्देशन दिएका छन् ।