काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य विनिता खड्काले कठिन परिस्थितिका बाबजुद आफ्नो राजनीतिक विश्वास, इमानदारी र निष्ठा अझ बलियो बनेको बताएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संघर्षपूर्ण राजनीतिक यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरेकी हुन्।
‘आज मन भावुक छ, तर संकल्प पहिलेभन्दा अझ बलियो छ,’ उनले लेखेकी छन्, ‘इमान र निष्ठा नछाडेकोले होला कठिन समयले मलाई कमजोर बनाएन, बरु आफ्नो विश्वास, इमान र राजनीतिक यात्राप्रति अझ दृढ बनायो।’
अदालतमा मुद्दा विचाराधीन रहेका कारण यसअघि निर्वाचित भएको प्रमाणपत्र प्राप्त गर्न नपाएकी खड्काले आज प्रमाणपत्र ग्रहण गरेकी हुन्। प्रमाणपत्र प्राप्त गर्नुलाई उनले पद प्राप्तिको विषयमा मात्र सीमित नराखी हजारौँ शुभेच्छुकको विश्वास, साथीहरूको साथ र आफ्नो संघर्षप्रतिको सम्मानका रूपमा व्याख्या गरेकी छन्।
उनले पार्टी सभापति गगनकुमार थापा तथा सम्पूर्ण पदाधिकारीप्रति आभार व्यक्त गर्दै महाधिवेशनको यात्रामा सहयोग गर्ने नेता, अग्रज, साथी, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकलाई धन्यवाद दिएकी छन्।
विशेषगरी कठिन परिस्थितिमा आफ्नो पक्षमा उभिएर हौसला दिने तथा विभिन्न आरोप र आक्षेपका बीच मनोबल कमजोर हुन नदिनेहरूप्रति आफू ऋणी रहेको उनको भनाइ छ।
‘तपाईंहरूको साथ मेरा लागि केवल सान्त्वना थिएन, कठिन समय पार गर्ने शक्ति थियो,’ उनले लेखेकी छन्।
खड्काले कठिन समयले धैर्य, आत्मविश्वास, सत्यप्रतिको निष्ठा र जनताको विश्वासको महत्व सिकाएको उल्लेख गरेकी छन्। अब विगतका पीडा र आरोपमा अल्झिनुभन्दा नयाँ संकल्पका साथ अघि बढ्ने उनको भनाइ छ।
उनले नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन, पार्टीभित्र लोकतान्त्रिक मूल्य र आदर्शलाई बलियो बनाउन तथा युवा पुस्ताको आवाज स्थापित गर्न आफ्नो ऊर्जा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
त्यस्तै, जनताका दुःख, समस्या र अपेक्षासँग जोडिएर काम गर्ने उल्लेख गर्दै उनले आफ्नो राजनीतिक यात्रा पद प्राप्तिका लागि नभई जिम्मेवारी पूरा गर्नका लागि भएको बताएकी छन्।
‘आरोपले मेरो आत्मविश्वास तोड्न सकेन, कठिन समयले मेरो संकल्प कमजोर बनाउन सकेन। बरु म पहिलेभन्दा अझ दरिलो भएर उभिएकी छु,’ उनले फेसबुकमा लेखेकी छन्।




प्रतिक्रिया