चार महिनामै २० अर्ब ४८ करोडको विद्युत् निर्यात, असोजमा सबैभन्दा बढी आम्दानी


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।

प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी बचत भएको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरेको हो। प्राधिकरणको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त अवधिमा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ।

चार महिनाको अवधिमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ। महिनागत विवरणअनुसार असोजमा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात भएको छ। उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको थियो। असोजमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा पुगेको थियो।

त्यस्तै, साउनमा ६२ करोड ९८ लाख युनिट विद्युत् निर्यात गरी ५ अर्ब १३ करोड ३९ लाख रुपैयाँ, भदौमा ५७ करोड ८७ लाख युनिट निर्यात गरी ५ अर्ब २२ करोड ९२ लाख रुपैयाँ आम्दानी भएको छ।

कात्तिकमा भने ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको प्राधिकरणले जनाएको छ। उक्त महिनाको औसत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ।

त्यस्तै, नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् निर्यात हुँदै आएको छ। हरेक वर्ष वर्षायामको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन र प्रसारणतर्फका संरचनामा क्षति पुग्दा केही आयोजनाको उत्पादन बन्द भएको बताए। यसले चालु वर्ष विद्युत् निर्यात प्रभावित भएको उनको भनाइ छ।

निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको श्रेष्ठले बताए।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो। सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो।

यसरी गत आर्थिक वर्षमा विद्युत् आयातको तुलनामा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो। नेपाल पछिल्ला दुई वर्षदेखि विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ।