स्विट्जरल्याण्डको थुनस्थित क्यान्सर उपचार संस्थाको चिकित्सकीय प्रमुखमा नेपाली डा. श्रेष्ठ नियुक्त


काठमाडौँ । नेपाली चिकित्सक डा. विनयकुमार श्रेष्ठ स्विट्जरल्याण्डको थुनस्थित ‘रेडियो–अन्कोलोजी बेर्नर ओबरल्यान्ड एजी’ को चिकित्सकीय प्रमुख (मेडिकल डाइरेक्टर) नियुक्त भएका छन् । उनको नियुक्ति नोभेम्बर १ देखि लागू भएको हो ।

उक्त संस्थामा १८ वर्षसम्म चिकित्सकीय नेतृत्व सम्हालेर अवकाश लिएका डा. पिटर एम. मेसरको स्थानमा डा. श्रेष्ठ नियुक्त भएका हुन् ।

यसअघि डा. श्रेष्ठ सन् २०२० देखि बर्नस्थित ‘इनसेलस्पिताल’ को विकिरण क्यान्सर चिकित्सासम्बन्धी विश्वविद्यालय क्लिनिकमा वरिष्ठ चिकित्सकका रूपमा कार्यरत थिए । त्यसअघि उनले विन्टरथुरस्थित क्यान्टोनल अस्पताल र ज्युरिख विश्वविद्यालय अस्पतालमा समेत काम गरिसकेका छन् ।

नेपालमा चिकित्सा शिक्षा पूरा गरेका डा. श्रेष्ठले स्विट्जरल्याण्डको बर्न विश्वविद्यालयबाट बायोमेडिकल इन्जिनियरिङमा स्नातकोत्तर र सन् २०२१ मा सोही विश्वविद्यालयबाट डक्टरेट (पीएचडी) उपाधि हासिल गरेका छन् । उनले सन् २०१६ मा रेडियो–अन्कोलोजीमा स्विस विशेषज्ञ चिकित्सकको उपाधि प्राप्त गरेका थिए ।

विकिरणको प्रयोगबाट क्यान्सरको उपचार गरिने (रेडियो–अन्कोलोजी) क्षेत्रमा व्यापक अनुभव, विभिन्न विधाको दक्षता र अन्तर–संस्थागत सहकार्यको अनुभवलाई आधार मानेर उनलाई प्रमुखको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।

सन् २००७ मा थुनस्थित अस्पतालमा स्थापना भएको ‘रेडियो–अन्कोलोजी बेर्नर ओबरल्यान्ड एजी’ सन् २००८ देखि स्पिताल एसटीएस एजी, इनसेल ग्रुप एजी र स्पितालर एफएमआई एजीको संयुक्त सहकार्यमा सञ्चालित छ । यसले बेर्नर ओबरल्यान्ड क्षेत्रका क्यान्सर बिरामीलाई स्थानीयस्तरमै गुणस्तरीय विकिरण उपचार सेवा प्रदान गर्दै आएको छ ।

संस्थाको स्थापनाकालदेखि नेतृत्व सम्हालेका डा. मेसरको योगदानको कदर गर्दै इनसेलस्पितालको विश्वविद्यालय क्लिनिकले डा. श्रेष्ठलाई नयाँ जिम्मेवारीका लागि सफल कार्यकालको शुभकामना दिएको छ ।

चिकित्सकीय सेवासँगै डा. श्रेष्ठ युरोपस्थित नेपाली समुदाय र स्वास्थ्यकर्मीहरूको सञ्जालमा पनि सक्रिय छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्याण्डका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्वसदस्य समेत रहेका उनी सन् २०२४ देखि ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ को अध्यक्षको जिम्मेवारीमा छन् ।