काठमाडौँ । मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको सङ्घारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो सङ्गठनात्मक संरचनालाई नयाँ स्वरूप दिने कसरत तीव्र पारेको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीले देशभरका क्रियाशील सदस्यहरूको अद्यावधिक विवरण सार्वजनिक गर्दै सङ्गठन शुद्धीकरण र पुस्तान्तरणको सन्देश दिन खोजेको देखिन्छ।
पार्टीको पछिल्लो तथ्याङ्कअनुसार वडा, नगर, क्षेत्र र केन्द्रमा सक्रिय रहेका करिब १ लाख १० हजार क्रियाशील सदस्यको नाम अद्यावधिक गरिएको छ। यसअघि करिब डेढ लाख क्रियाशील सदस्य रहेको दाबी गर्दै आएको राप्रपाको अद्यावधिक सूचीमा करिब ४० हजार सदस्य घटेका छन्। राजनीतिक वृत्तमा यो कटौतीलाई कागजी सदस्यता हटाएर वास्तविक तथा सक्रिय कार्यकर्तालाई मात्र सङ्गठनको मूलधारमा समेट्ने रणनीतिका रूपमा हेरिएको छ।
सङ्गठनलाई तल्लो तहदेखि नै चलायमान बनाउने उद्देश्यले राप्रपाले ७६ जिल्ला र पाँच प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ। नेतृत्व चयनको मुख्य आधार मानिने महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। यसपटक पार्टीले प्रतिनिधि छनोटमा समावेशिता र युवा सहभागितालाई विशेष प्राथमिकता दिएको छ।
नयाँ व्यवस्थाअनुसार प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित हुने ९ जना महाधिवेशन प्रतिनिधिमध्ये कम्तीमा तीन जना महिला अनिवार्य गरिएको छ। त्यस्तै, सङ्गठनमा युवा पुस्ताको आकर्षण बढाउन र नेतृत्व विकास गर्न प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका कम्तीमा एक जना युवा प्रतिनिधि सुनिश्चित गरिएको छ। परम्परागत र पाका नेताहरूको बाहुल्य रहेको आरोप खेप्दै आएको राप्रपाका लागि यो प्रावधान नीतिगत रूपमै पुस्तान्तरणको ढोका खोल्ने प्रयास हो।
यस्तै, स्थानीय तहदेखि प्रदेशसम्मका सङ्गठनात्मक नेतृत्वलाई केन्द्रसँग प्रत्यक्ष जोड्न पदेन प्रतिनिधिको व्यवस्था पनि गरिएको छ। पालिका, प्रदेशसभा, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानले तल्ला कमिटीका नेतृत्वको भूमिकालाई थप बलियो बनाएको छ।
सदस्यता अद्यावधिकको कडाइ, महिला तथा युवाको अनिवार्य कोटा र तल्ला तहका अध्यक्षहरूको स्वतः सहभागिताले राप्रपाको आगामी महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नरही आन्तरिक लोकतन्त्र र सङ्गठनात्मक पुनर्संरचनाको महत्त्वपूर्ण कसी बन्ने देखिएको छ।




प्रतिक्रिया