काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको भन्दै एक व्यक्तिसँग दुई लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका–२ का ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ का २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ का ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ का ३० वर्षीय हर्क सिंह भोलन रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत बिहीबार दिउँसो प्रहरी प्रभाग काँडाघारीले एक व्यक्तिलाई सोधपुछका लागि कार्यालय बोलाएको थियो। ती व्यक्तिलाई भेट्न उनका भाइ प्रहरी कार्यालय पुगेका थिए।
सोही क्रममा प्रहरी कार्यालय आसपास भेटिएका एक युवकले आफू प्रहरी निरीक्षक भएको परिचय दिँदै उनका दाजुलाई मुद्दा नचलाई छुटाइदिने आश्वासन दिएका थिए। त्यसका लागि उनले दुई लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने भन्दै होटल खर्चसमेत तिर्न दबाब दिएका थिए।
तर, ती युवकले रकम दिन अस्वीकार गरेपछि उनीहरूले विभिन्न धाकधम्की दिएको प्रहरीको भनाइ छ। त्यसपछि पुगेको प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्रचोकबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका पाँचै जनाविरुद्ध अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी थापाले जानकारी दिएका छन्।




प्रतिक्रिया