काठमाडौँ । मुलुकको राजधानी काठमाडौँलाई तराईसँग जोड्ने मुख्य लाइफलाइन नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा ठप्प पार्न शुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेसँगै दिउँसोको समयमा यो राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रु र मालवाहक सवारीको आवागमन प्रभावित बनेको छ।
दैनिक व्यस्त समयमै मुख्य राजमार्ग बन्द गर्नुको पछाडि यात्रुको सुरक्षा र दीर्घकालीन सडक व्यवस्थापनको बाध्यात्मक कारण जोडिएको छ। प्रशासनका अनुसार यस सडकखण्डअन्तर्गत पर्ने तुइनखोला क्षेत्रमा पहिरोको उच्च जोखिम कायमै छ। बर्खायाम सकिए पनि उक्त स्थानमा झुन्डिएर रहेका ढुङ्गा, माटो र पहिरोको जोखिमयुक्त भाग जुनसुकै बेला खसेर ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याउन सक्ने प्राविधिक आँकलन गरिएको छ।
साँघुरो भौगोलिक बनावटका कारण सवारी साधन सञ्चालन भइरहेको अवस्थामा माथिबाट पहिरो काट्ने र जोखिमयुक्त भाग पन्छाउने कार्य सम्भव छैन। डोजर तथा अन्य भारी उपकरण प्रयोग गरी भित्तो काट्दा तल गुडिरहेका सवारी साधनमा ढुङ्गा खस्ने प्रत्यक्ष खतरा रहने भएकाले दिउँसोको उज्यालो समयमा सवारी आवागमन पूर्णरूपमा रोकेर काम अघि बढाउनुपरेको हो। रातिको समयमा पहिरो पन्छाउने काम थप जोखिमपूर्ण हुने भएकाले प्रशासनले दिउँसोको पाँच घण्टाको समय रोजेको देखिन्छ।
दिउँसो ११ देखि ४ बजेसम्मको समय राजमार्गमा सवारी चाप उच्च हुने समय हो। विशेषगरी चितवन हुँदै काठमाडौँ र पोखरातर्फ जाने तथा ती शहरबाट बाहिरिने दिवा सेवाका यात्रुहरू यसबाट प्रत्यक्ष मारमा परेका छन्। समयतालिका नमिलाई यात्रा गर्ने यात्रुहरूले घण्टौँसम्म सडकमै जाममा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ भने वैकल्पिक मार्ग प्रयोग गर्दा यात्रा लामो र खर्चिलो बन्ने अवस्था छ।
तत्कालका लागि यात्रुहरूले सास्ती व्यहोर्नुपरे पनि तुइनखोलाको जोखिमपूर्ण पहिरो हटाउने यो कदम भविष्यमा हुन सक्ने सम्भावित दुर्घटना टार्ने अनिवार्य उपाय हो। यात्रुहरूले बिहान ११ बजेअघि नै उक्त खण्ड पार गरिसक्ने वा अपराह्न ४ बजेपछिको समयतालिका मिलाएर यात्रा गर्नु नै हालको असहजताबाट बच्ने उत्तम विकल्प हो ।




प्रतिक्रिया