चुनाव हारजितले फरक पर्दैन, माओवादी केन्द्रको मुद्दा स्थापित भएकोमा खुशी छौँ : गृहमन्त्री शर्मा


काठमाडौं, १९ असार । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनको नतिजाले आफ्नो पार्टीलाई कुनै समस्या नपरेका स्पष्ट पारेका छन् ।

मुलुकको आवश्यकता अनुसार स्थानीय तहको निर्वाचन सफल भएको भन्दै शर्माले पार्टीगत स्वार्थलाई आफूहरुले नहेरेको बताएका हुन । सोमबार विहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री शर्माले हालै सम्पन्न भएको स्थानीय तहको दुवै चरणको स्थानीय तहको निर्वाचनको नतिजालई माओवादी केन्द्रले सहर्ष स्विकार गरेको बताएका हुन ।

जनताले उत्साहपूर्ण तरिकाले स्वतन्त्र भएर मत जाहेर गरेकाले आफ्नो पार्टीले अपेक्षित नतिजा हात नपारेपनि मुलुकका लागि फाइदा नै भएको शर्माको तर्क छ । “जनताले जसलाई मतदान गरे त्यही सत्य हो, सत्यलाई स्विकार्नुपर्छ” शर्माले भने ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा भएका कामलाई जनतासमक्ष पु¥याउन नसक्नुलाई पार्टीले कमजोरीको रुपमा व्याख्या गरेको गृहमन्त्री शर्माले जानकारी दिए । जनताका लागि हित हुने धेरै काम गरे पनि त्यसको तथ्य जनतामाझ नपुगेको शर्माको भनाई छ । पार्टीको नीति र नेतृत्व सफल भएको दाबी गर्दै शर्माले दाहाल नेतृत्वको सरकारले देशलाई नयाँ गति दिएको दाबी गरे । जनतामाझ कतिपय कुरा भ्रमपूर्ण तरिकाले पु¥याइएकाले पनि माओवादी कमजोर देखिएको शर्माको जिकिर छ ।

संविधान संशोधन गर्न नसकेको मत परिणामा प्रभावित भएको हो कि भन्ने प्रश्नको जवाफ दिँदै शर्माले भने,“संविधान संशोधन गर्नु हुँदैन भन्नेहरुको नै मत धेरै आएकाले संविधान संशोधको कुराले मत परिणाम प्रभावित भएको मान्न सकिदैन ।” चुनावी नतिजामा पार्टी तेस्रो शक्ति भएपनि मुलुकका लागि माओवादी केन्द्रले ल्याएको मुद्दाको जित भएको भन्दै शर्माले आफ्नो पार्टीका मुद्दाहरु स्थापित भएकोप्रति गर्व महसुश गरेको दाबी समेत गरे ।