संसदको निर्वाचन क्षेत्र संख्या बढाईए अर्को विकल्प खोज्न एमाले बाध्य हुनेछ : शंकर पोखरेल


काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रले नयाँ संविधानको व्यवस्थाविपरीत हालकै २ सय ४० क्षेत्रलाई संघीय संसद्को निर्वाचन क्षेत्र कायम गराउन भन्दै छलफल अघि बढाएको कुरा आफूहरुले सुनेको भएपनि यसलाई आफ्नो पार्टीले कुनैपनि हालतमा नमान्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘अहिलेसम्म हामीसँग यस्तो कुरा उहाँहरुले गर्न सक्नुभएको छैन, यदि आयो भने हामी कुनैपनि हालतमा मान्दैनौं।’ प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पहिलो चरणमा छलफल भएपछि यस्तो कुरा बाहिरिएको उनले आरोप लगाए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले माघ ७ गतेभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने र त्यसको लागि चाँडो भन्दा चाँडो निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माँग गरेको बताए । उनले भने,‘माओवादी केन्द्रका साथीहरुले समानुपातिक चाहियो भन्नुभएको छ अरे, हाम्रो माँग २४० हुँदैहोईन, यस्तो कुरा कल्पनापनि गर्न सकिँदैन्।’ एमालेले संसदको निर्वाचन क्षेत्र बढाउने कुराको कहिल्यैपनि सहमत नगर्ने उनको भनाई थियो ।

उनले भने,‘प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकबाट १ सय १० गरी कुल २ सय ७५ सदस्सीय संघीय संसद् बनाउने संवैधानिक व्यवस्था छ। यसविपरीत सत्तापक्षले संविधानसभाका लागि कायम गरिएका २ सय ४० क्षेत्रलाई नै निर्वाचन क्षेत्र कायम गर्नुपर्नेमा जोड दिइरहेका कुरा हामीले सुनेका छौं, तर यो हामीलाई मान्य छैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले संसदको म्याद पनि एक वर्ष थप्ने भन्ने कुरा सत्तापक्षले गरिरहेको कुरा आफूहरुले सुनेको उल्लेख गर्दै भने,‘यस्तो अनुचित कुरामा हाम्रो कुनै सहमति हुँदैन्, संसदको म्याद थप संभव छैन्, हामी हुनै दिंदैनौं।’ उनले संसदको म्याद थप्न खोजिए आफूहरु विकल्प खोज्न बाध्य हुने समेत चेतावनी दिए । उनले माघ ८ गतेको मिति गुजारेर यदि कसैले अनिर्वाचित शासक बन्ने सपना देखेको भए त्यो कुनैपनि हालतमा पूरा नहुने चूनौति दिए । उनले भने,‘राजा ज्ञानेन्द्रको हालत सम्झिए हुन्छ।’

पोखरेलले आफ्नो पार्टीले धेरै पहिलेदेखि नै नयाँ म्याण्डेट पाएपछिमात्रै संविधान संशोधन गर्नुपर्ने बताउँदै आएको स्पष्ट पारे । उनले भने,‘देउवाजी दुई तिहाईको प्रधानमन्त्री बन्नुभयो भनेर केही साथीहरुले भनेकोपनि सुनियो, त्यसो भए संविधान संशोधन गरे भैगयो त, किन रोकेर राखेको त ?’ उनले प्रश्न गरे,‘संविधान संशोधन प्रस्ताव तयार पार्दा एमालेलाई सोधियो त ?’ उनले संशोधन प्रस्ताव प्रतिपक्षले भन्दापनि सरकारले नै रोकेर राखेको बताए । उनले थपे,‘हामीले त संशोधनमाथि संशोधन हालेका छौं।’

नेता पोखरेलले सत्तारुढ दलले एमाले र राजपासँग बेग्लाबेग्लै कुरा गरेको समेत आरोप लगाए । उनले भने,‘हामीसँगको सहमतिमा सरकारले चुनावपछिमात्रै संशोधनमा बृहत्त सहमति खोज्ने भनेको थियो, तर राजपासँग उसले चुनावअघि नै संशोधन प्रस्ताव पारित गराउने भनेको छ, यो उसको दोधारे कुरा भयो, सरकारले एउटा पक्षसँग बेईमानीको राजनीति गरिरहेको छ।’

उनले स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार आफ्नो पार्टी पहिलो बनेको समेत दाबी गरे । उनले भने,‘अहिले एमाले ठूलो पार्टी हो, अहिले सरकारमा बस्नेहरुले त प्राविधिक रुपमा नेतृत्व गरिरहेका छन्।’ वर्तमान सत्तारुढ दलहरुको राजनीतिक रुपमा जनमत गुमिसकेको पनि उनको भनाई थियो । उनले भने,‘युरोप अमेरिकातिर हुन्थ्यो भने सरकारको नेतृत्वकर्ताले तत्काल राजिनामा दिएर अर्को नेतालाई नेतृत्वमा पुर्याईसक्थे ।’

उनले कांग्रेसले नै राजपालाई चुनावमा आउन नदिएको आरोप लगाए । ‘राजपा चुनावमा नआउँदा सबैभन्दा ठूलो फाईदा कांग्रेसलाई हुन्छ भनेर उसले राजपालाई चुनावमा आउन नदिएको हो’, पोखरेलले थपे,‘चुनावमा आउ भनेजस्तो गर्ने तर आउन नदिने कांग्र्रेसको राण्नीति छ।’

उनले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी नै पहिलो हुने दाबी गरे । उनले भने,‘मधेश र मधेशी जनताको हित गर्ने र उनीहरुको पक्षको एजेण्डा बोक्ने पार्टी नेकपा एमाले नै हो।’ उनले मधेशबारे कांग्रेस र माओवादी केन्द्रसँग कुनै एजेण्डा नै नभएको समेत आरोप लगाए ।