‘भु–माफियाहरु कानुनको बलियो फन्दामा पर्ने दिन नजिंकिदै छ’
काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद उदय नेपाली श्रेष्ठले जग्गा दलालीको जालो निक्कै डरलाग्दो भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा सरकारी, सार्वजनिक एवम् गुठि जग्गा संरक्षण संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद नेपालीले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
सांसद नेपालीले भने,‘सरकारी जग्गा, गुठी जग्गा, सार्वजनिक जग्गा नीजिकरण गर्ने जालो सानो छैन्, यो कदम उठाउनु संघर्ष समितिको चुनौतिपूर्ण काम हो, मेरो यसमा पुरै सहमति छ, यतिका निवेदन पर्दा समेत सरकारी निकाय नै मौन हुनुले निक्कै शंका उब्जाएको छ, अनुशासन समितिबाट हामी यसकाबारेमा गम्भिर अध्ययन, अनुसन्धान र दोषीलाई कडा कारवाही गर्नको लागि फाईल अघि बढाएका छौँ, अर्कोतर्फ हामीले अख्तियारलाई समेत सहयोग गरि दोषीलाई कानूनको घेराभित्र राखौ भनेर सहयोगको लागि आग्रह गरेका छौँ।’

सांसद नेपालीले अदालतको सम्मान गर्ने बताउँदै भने,‘हामी अदालतको सम्मान गछौँ तर अदालतलाई समेत गुमराहमा राखेर जग्गा दलालीहरुले सार्वजनिक जग्गा नीजिकरण गर्ने साहस गरिरहेका छन्, त्यस्ता भ्रष्ट र अपराधिहरूलाई कुनै पनि हालतमा कारवाही गर्नुपर्छ।’
त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका सांसद अनमनलाल मोदीले भू–माफियाहरूले सर्वसाधारण जनतालाई झुक्याउने, धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् ।
उनले भने,‘यदि हिम्मत छ भने मलाई गोलि हान, सर्वसाधरण जनता र सार्वजनिक जग्गामा आँखा नलगाउ, अब तिमीहरु कानुनको बलियो फन्दामा पर्ने दिन नजिंकिदै छन्, अब हामी कुनैपनि हालतमा छोड्नेवाला छैनौ।’
त्यस्तै संघर्ष समितिका संयोजक एवम् अधिवक्ता अर्जुन बासुले राजधानीको मुटु प्रधानमन्त्रीजस्तो उच्च पदस्थ बस्ने बालुवाटारको जग्गा समेत नीजिकरण गर्ने साहस गरिरहेको अवस्थामा सरकारी निकाय नै चुप लागेर बस्नुमा ठुलो चलखेल रहेको पुष्टि हुने स्पष्ट पारे ।
त्यस्तै समितिका महासचिव युवराज कोईरालाले भू–माफियाहरूले सरकार र अदालतलाई समेत दिग्भ्रमित पार्ने खालका काम गरेर सार्वजनिक रोक्का गरिएका जग्गा समेत बिक्रि गरिहरको बताए ।

उनले भने,‘संसदले समेत गरेको निर्णयलाई अटेर गरेका संरचना निर्माण गर्ने जग्गा बिक्रि गर्नेजस्ता कामहरु गरिरहेका छन्।’
भू–माफिया मात्रै भन्नुहुन्छ तर कसैको नाम तोक्नुहुदैन नि भनेर पत्रकारले गरेको प्रश्नको जवाफमा कोईरालाले रुक्मशमशेर राणा, शैलजा राणा, हाटक शमसेर जबरा, सुनीति राणा लगायत व्यक्तिहरुले बिचाराधिन अवस्थामा रहेका जग्गाहरु बिक्रि गरेको बताए।




प्रतिक्रिया