आर्थिक अवस्था सुधारका लागि काम गर्छु : मन्त्री विश्वकर्मा


इटहरी, १६ साउन । वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले नेपालले वाणिज्य क्षेत्रमा घाटा बेहोर्दै आएकाले घाटा पूर्ति गर्ने विषयमा केन्द्रित रहेर नेपालको आर्थिक अवस्थामा सुधार ल्याउन काम गर्ने बताउनुभएको छ ।

मन्त्री विश्वकर्माले आज सुनसरीको इटहरी उपमहानगरपालिका– २० तरहरामा बधाई तथा कार्यकालको सफलताका लागि शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा आर्थिक अवस्था सुधारका लागि दृढ भएर काम गर्ने बताउनुभयो ।

मन्त्री विश्वकर्माले प्रदेश नं १ मा हुने उत्पादनलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वी नेपालका किसानले उत्पादन गर्दै आएको अदुवा, रुद्राक्ष, अलैँची, अकबरे खुर्सानी, चिया, कफी, दूधलगायतलाई निर्यात प्रवद्र्धन गर्न सकिने बस्तुको स्तरीकरण एवम् प्रशोधन गर्ने विषयमा विशेष ध्यान दिने उहाँको भनाइ थियो ।

“करदाताको सम्मान गर्ने गरी मन्त्रालयले नीति ल्याउन लागेको छ,” उहाँले भन्नुभयो । खुशीसाथ कर तिर्न तयार हुने वातावरण बन्न नसकेसम्म देशले उन्नति गर्न नसक्ने उहाँको भनाइ थियो । चाँडै नै करदाता सम्मान कार्ड वितरण गर्ने तयारीमा मन्त्रालय जुटेको मन्त्री विश्वकर्माले बताउनुभयो । रासस