काठमाडौं, २० असोज । प्रमुख दलहरुवीच राजनीतिक ध्रविकरणको कसरत बढेसँगै आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन कसको नेतृत्वमा सम्पन्न होला भनेर अहिलेदेखि नै चर्चा सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नै अबको दुई निर्वाचन गराउलान त ? या अब निर्वाचन कसले गराउँछ त भनेर प्रश्नहरु उब्जिएका छन् । सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतीपक्षी दल एमालेसँग चुनावी तालमेल र पार्टी नै एकीकरण गर्ने निर्णय गरेपछिको उत्पन्न राजनीतिक परिघट्नाले अब वर्तमान सरकारले नै चुनाव नगराउने हो कि भन्ने सनसनीपूर्ण अनुमानहरु हुन थालेका छन् ।
संसद विघटन भएपछिमात्रै देउवाले पनि चुनावी सरकार प्रधानन्याधिश गोपाल पराजुलीको नेतृत्वमा गठन गराउन पहल गर्ने बुझिएको छ । अहिलेसम्म देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलई बर्खास्त गर्नेबारे सोचेका छैनन् । उनी निकट नेताहरुका अनुसार देउवा जसरी पनि चुनावलाई समयमै सम्पन्न गराउन चाहन्छन् । त्यो पनि आफ्नै नेतृत्वमा ।
वाम तालमेलले उत्पन्न परिस्थिति, माओवादीलाई सरकारमा राख्ने वा नराख्ने, कांग्रेसले आफ्नो नेतृत्वमा बनाउन पहल गरेको गठबन्धन र चुनावी रणनीति बनाउन प्रधानमन्त्री देउवाले पार्टीको बैठक बोलाएका छन् । उक्त बैठकमा समेत यसबारेमा विशेष छलफल भएको बुझिएको छ ।
पछिल्लो वामपन्थी एकता र तालमेलका पछाडि सत्तास्वार्थ रहेको प्रष्ट हुँदै जानेछ भनेर कांग्रेस नेताहरुले दाबी गर्दै आएका छन् । संविधान कार्यान्यनको जस शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसले लिने बुझाईका साथ उनलाई सत्ताबाट झार्ने खेल अन्र्तगत घटनाक्रम विकास भएको हो भन्न पनि थालिएको छ ।
देउवाले सत्ता छाड्नुपरे कस्को नेतृत्वमा चुनाव हुने ? यो प्रश्नको उत्तर झन् कठिन हुनसक्छ । प्रचण्डको नेतृत्व केपी ओलीले मानिहाल्लान् भन्ने छैन । यस्तो अवस्थामा फेरि अर्को खिलाराजको उदयतर्फ देश बढिरहेको छ । बहालवाला प्रधानन्यायाधीश गोपाल पराजुलीले भविष्यमा आउनसक्ने जिम्मेवारीका लागि आफूलाई तयारी अवस्थामा राखिसकेका होलान् । प्रधानमन्त्री शेरबहादुर देउवादेखि केही राजनीतिक दलका प्रभावशाली नेताहरूले उनीसँग परामर्श समेत गरेको सूचना आएको छ ।
नेताहरूले छाति फराकिलो पारेर देशको हितमा त्यागको भावना देखाउन सकेनन् । यतिसम्मकी एकले अर्कालाई जस लिन नदिने गरी सानो चित्त देखाइरहे । देशको दुरगामी हितका लागि साझा सहमतिमा आउनुपर्नेमा तेरो र मेरो भन्नथाले । देश सबैको हो र एकले अर्काको स्थान र शक्तिलाई स्वीकार्नुपर्नेमा मेरो मात्र हो जस्तो गरिरहे । फलस्वरुप देशमा पटक पटक खिलाराज रेग्मीहरूको हातमा सत्ता पुगिरहने वातावरण बन्न जाँदैछ । अब जे हुन्छ अपजसको भारी शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले लिनुपर्छ । जस लिन नदिनेले अपजसको भारी समेत बोक्न तयार हुनुपर्छ ।
https://reportersnepal.com/2017/10/206477.html




प्रतिक्रिया