झापादेखि कञ्चनपुरका ७८ सिटमा उपेन्द्र–महन्थलाई ४५ सिट दिने देउवाको तयारी


काठमाडौं, २१ असोज । नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो शनिबार साँझसम्म लगाउने भएका छन् । अहिले त्यसको लागि सत्तारुढ दलले ‘ग्राण्ड–होमवर्क’ गरिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट उच्च स्रोतका अनुसार कांग्रेसले राजपा र संघीय समाजवादी फोरम नेपाललाई कुल मिलाएर ४५ सिट दिने देउवाको तयारी छ । तर राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई कम्तिमा प्रत्यक्षतर्फ ५० सिट दिनुपर्ने माँग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान र साँझ गरी दुई पटक बसेको कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको कार्यदलको बैठकले दुई पक्षीय र बहुपक्षीय छलफल गरेर शनिबारसम्म प्रत्यक्षतर्फको सिट संख्या टुंगो लगाउने समझदारी गरेको थियो ।

कार्यदलले अन्य दलसँग समेत चुनावी तालमेलका लागि ढोका खुला राख्दै उनीहरूलाई पनि समेट्ने प्रयत्न जारी राख्ने निर्णय गरेको छ । प्रत्यक्षतर्फ कति प्रतिशत सिट संख्या पाउने, सम्भावित जित्ने जिल्ला र क्षेत्रका विषयमा सैद्धान्तिक छलफल भएको स्रोतको दाबी छ ।