उम्मेद्धवारको टुँगो लगाउन कांग्रेसले भोलि संसदीय बोर्ड गठन गर्ने


काठमाडौं, २२ असोज । नेपाली कांग्रेसले आउँदो प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार बन्ने आकांक्षीहरुको सुची लामो भएपछि त्यसलाई टुँगो लगाउन संसदिय बोर्ड गठन गरेर उम्मेदवारको छिनोफानो गर्ने तयारी गरेको छ ।

त्यसको लागि कांग्रेसले भोलि नै बोर्ड गठन गर्ने तयारी गरेको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनका अनुसार हिजो बसेको केन्द्रीय समिति बैठकले आउदो चुनावको लागि उम्मेदवार छनोटको मापदण्ड बनाएपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने जिम्मा भने संसदिय बोर्डलाई दिने निर्णय गरेको थियो ।

संसदिय बोर्डमा बर्तमान पदाधिकारी, स्वतः पदेन सदस्य हुनेछन् । अरु केही नेता थप गरेर साँझसम्ममा १४ सदस्यिय बोर्ड बनाउने र भोलीसम्ममा उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाईसक्ने काग्रेस नेताहरुले जनाएका छन् ।

हिजो सकिएको काग्रेस बैठकले समानुपातिक तर्फबाट सांसद् बनेकालाई फेरी समानुपातिक सांसद नबनाउने गरि उम्मेदवार छनोटको मापदण्ड तय गरेको थियो । यस्तै, स्थानीय तहको चुनावमा प्रमुख, उपप्रमुखबाट पराजित उम्मेदवारले पनि प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्न नपाउने मापदण्ड पनि बनाएको छ ।