काठमाडौँ, ३० असोज (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई ध्यानमा राखेर ‘केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ आजदेखि शुरु गरेको छ ।
पार्टीको प्रशिक्षण विभागको आयोजनामा गोदावरीमा शुरु भएको उक्त कार्यक्रममा देशभरबाट करिब ६० जना अगुवा नेता तथा कार्यकर्ताको सहभागीता छन् । चुनावलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे सैद्धान्तिक ज्ञानसहितको पाठ्यक्रममा प्रशिक्षण दिइएको छ ।
सो अवसरमा पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा भएको वामपन्थी एकता तथा धु्रवीकरणका कारण लोकतान्त्रिक गठबन्धनलाई कमजोर बन्न नदिनका लागि पार्टी पूर्ण प्रतिवद्ध रहेको बताउँर्दै निर्धारित समयभित्र चुनाव गराउने सुनिश्चितताका लागि पार्टी सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो ।
प्रशिक्षण विभाग प्रमुख भुवन पाठकले पार्टीले राष्ट्रवादी, हिन्दूवादी, राजावादी, उदारवादी र संवद्र्धनवाद चिन्तनलाई वैचारिक दृष्टिकोण बनाएकाले ती विषय प्राप्तिका लागि प्रस्ट हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
मंगलबारसम्म चल्ने सो कार्यक्रममा पार्टीका प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख पाठकले ‘पार्टीको सैद्धान्तिक अवधारणा र आगामी निर्वाचन तयारी’ विषयमा तथा केन्द्रीय सदस्यहरु डा. भीमसेन गुरुङले ‘प्रशिक्षकको कर्तव्य र दायित्व’, डा. विष्णु भण्डारीले ‘पार्टीको उम्मेदवार वैकल्पिक अवधारणा’ र रामानन्द न्यौपानेले ‘संगठन निर्माणको रणनीति’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
उक्त कार्यक्रममा तालिम लिएका केन्द्रीय प्रशिक्षकले पुनः सम्बन्धित क्षेत्र भूगोलमा गएर कार्यकर्तालाई जानकारी गराउनेछन् ।
–––




प्रतिक्रिया