काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको लागि पनि मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सम्पूर्ण नेपालीहरुको सहभागिता हुनुपर्ने बताएका छन् ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोलीलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने,‘देउसी भैलो टोली जु रिपोर्टर्स क्लब नेपाल मेरो निवासमा आएर भैलो गाएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु, त्यस्तै सम्पूर्ण दाजुभाई तथा दिदिबहीनीहरुमा पनि हार्दिक शुभकामना छ, मुलुकमा अमनचयन, शान्ति ल्याउने कुरामा नेपाल अघि बढोस् मेरो यही शुभकामना छ।’
त्यस्तै उनले मुलुकमा निर्वाचन हुन गैरहेको बताउँदै निर्वाचनमा सम्पूर्ण जनताहरुको उल्लेखनीय सहभागिता होस् भन्दै चुनाव शान्ति, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास दिलाए ।
उनले चुनाव अब तोकिएकै मितिमा सम्पन्न हुने विश्वास दिलाए । देउवाले थपे,‘चुनाव एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ, त्यो पनि तोकिएकै मितिमा हुन्छ, स्वतन्त्र रुपमा सम्पन्न हून्छ, सरकार पूर्ण प्रतिबद्ध छ।’




प्रतिक्रिया